उच्च पहाडी जिल्लामा शतप्रतिशत रोपाई

आकाश कार्की/निशा दाहाल(प्रशिक्षार्थी पत्रकार)
विराटनगर । प्रदेश एकमा हालसम्म ९८.४८ प्रतिशत धान रोपाई भएको छ । भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय प्रदेश एकका अनुसार यस बर्षको साउन अन्त्य सम्ममा ९८.४८ प्रतिशत धान रोपाई सम्पन्न भएको हो ।

प्रदेश एकमा हाल सम्म ३ लाख ३५ हजार ६ सय ६२ .८२ हेक्टरमा धान रोपाई सकिएको हो । यस बर्ष धान खेतीका लागि ३ लाख ४० हजार ८ सय २९ हेक्टर जमिन रहेको छ ।

गत बर्ष यही समयमा ९७.५४ प्रतिशत रोपाई सम्पन्न भएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता एवं वरिष्ठ कृषिप्रसार अधिकृत राजेन्द्र उप्रेतीले उच्च पहाडी क्षेत्रका तिन जिल्लामा शतप्रतिशत धान रोपाई सकिएको बताउनुभयो । उहाँका अनुसार उच्च पहाडी जिल्लाका ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुमा जम्मा धान खेतीका लागि २४ हजार १ सय १३ हेक्टर जमिन रहेकोमा शतप्रतिशत खेती भएको हो ।

मध्य पहाडी क्षेत्रका ८ जिल्लामा ९६.४४ प्रतिशत धान रोपाई सकिएको छ भने तराइका तिन जिल्लामा ९९ .१४ प्रतिशत रोपाई सकिएको हो ।

प्रदेश १ मा गतवर्ष १३ लाख ११ हजार २४५.१४७ मेट्रिक टन धान उत्पादन भएको प्रवक्ता उप्रेतीले जानकारी दिनुभयो ।

Back to top button