पार्टीले कारवाहि गरेका १४ जना सांसदलाई पदमुक्त गर्न सभामुखलाई एमालेको दवाव

काठमाडौं । पार्टीले कारवाही गरेका माधव नेपालसहितका १४ जना सांसदलाई तत्काल प्रतिनिधिसभा सदस्यबाट पदमुक्त गर्न नेकपा एमालेले सभामुख अग्नि सापकोटासँग आग्रह गरेको छ ।

एमालेको तर्फबाट प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरीलगायतका नेताहरूले आज सभामुखलाई भेटेर माओवादी र जसपाले कारवाही गरेका सांसदलाई २४ घण्टाभित्रै पदमुक्त गरेको नजिर पेस गर्दै एमालेविरुद्ध नलाग्न चेतावनी समेत दिनुभएको छ ।

उहाँहरुले तत्काल ती १४ जनालाई पदमुक्त गरेको सूचना टाँस्न सभामुख अग्नि सापकोटालाई आग्रह गर्नुभएको छ । सभामुखले एमाले नेताहरूसँग शुरूमा आफू कसैको दबाबमा काम नगर्ने बताउनुभएको थियो ।

एमाले नेताहरूले सभामुखलाई कानूनको कार्यान्वयन गर्नेबाहेक अरु विकल्प नरहेकोले विलम्ब नगर्न आग्रह गर्नुभयो । एमाले प्रमुख सचेतक भट्टराईले भन्नुभयो,‘सभामुखले के गर्ने वा नगर्ने भन्ने कुरै छैन । कानूनले जे भनेको छ त्यो गर्ने हो । कारवाही पार्टीले गरेपछि ठीक बेठीक अदालतले भन्ला । तर, सभामुखले हिजोका उदाहरण समेत हेरेर खुरुक्क सूचना टाँस्नुपर्छ । नत्र एमालेले सभामुखलाई सहयोग गर्न सक्दैन।’

एमाले नेताहरूले तत्काल कारवाही प्रक्रिया अघि बढाउन चेतावनी दिएपछि सभामुख सापकोटाले आफूले बुझेर अघि बढाउने बताउनुभएको छ ।

सभामुखलाई भेट्न एमालेका नेताहरू खगराज अधिकारी, कृष्णभक्त पोखरेल, भूमि त्रिपाठी, महेश बस्नेत, निरु पाल, पार्वत गुरुङ, राजेन्द्र गौतम, भगवती न्यौपाने, गंगा चौधरीलगायत सांसद जानुभएको थियो ।

Back to top button