डेन्टल एसोसिएसन मोरङमा डा. प्रेक्षा दली

विराटनगर । डेन्टल चिकित्सकहरूको संस्था नेपाल डेन्टल एसोसिएसन मोरङको अध्यक्षमा डा. प्रेक्षा दली निर्वाचित हुनुभएको छ । डा. प्रेक्षा गोला प्रथाद्वारा निर्वाचित हुनुभएको हो ।

विराटनगरमा आज सम्पन्न भएको निर्वाचनमा डा. प्रेक्षा र उहाँकी प्रतिस्पर्धी डा. नुतन नौलाखे समान २४/२४ मत ल्याउनुभएको थियो । ५० जना सदस्य रहेको एसोसिएसनको निर्वाचनमा भने ४८ मत मात्र खसेको थियो । दुई जना सदस्य अनुपस्थित हुनुभएको थियो ।

समान मत आएपछि निर्वाचन समितिले गोलाप्रथाबाट अध्यक्ष निर्वाचित गरेको हो । दुई वर्षे कार्यकाल रहने एशोसियसनमा यसअघि सर्वसम्मतबाट नेतृत्व चयन हुँदै आएको थियो ।

अन्य पदमा सर्वसम्मत रूपमा पदाधिकारी र कार्यसमिति चयन भएपनि अध्यक्षमा सहमति हुन नसकेपछि निर्वाचन भएको हो । अहिलेसम्मको इतिहासमा नेपाल डेन्टल एसोसिएसन मोरङमा निर्वाचनको पद्धतिबाट अध्यक्ष निर्वाचन भएको पहिलो पटक हो ।

एसोसिएसनको उपाध्यक्षमा डा. बिवेक सिंह, महासचिवमा डा. मिरा आचार्य, कोषाध्यक्षमा डा. पवन मेहता, सह–सचिबमा डा. विशालराज जोशी सर्वसम्मत चयन हुनुभएको छ । यस्तै सदस्यहरूमा डा. प्राचि भगत, डा. निलेश कुमार देव, डा. अमिन कुमार सिंह र डा. आदित्य साह सर्वसम्मत चयन हुनुभएको छ ।

यसैबिच नव निर्वाचित अध्यक्ष डा. प्रेक्षा दलीले सबैलाई समेटर अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । नयाँ सदस्य विस्तार गर्दै चिकित्सकहरूको हकहितमा लाग्ने बताउँदै उहाँले लामो इतिहास बोकेको नेपाल डेन्टल एसोसिएसन अझै पनि समाजमा परिचित हुन नसकेकाले समाजमा परिचित बनाउने अभियानमा लाग्ने बताउनुभयो । डा. प्रेक्षा यसअघि एसोसिएसनको कोषाध्यक्ष हुनुभएको थियो ।

Back to top button