मुख्यमन्त्री आचार्यले आज मन्त्रिमण्डल विस्तार गर्दै

विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज शुक्रबार मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा जुृट्नुभएको छ । २ देखि ४ जना मन्त्री नियुक्त गर्ने गरी आचार्य आन्तरिक छलफलमा जुट्नुभएको हो ।

मुख्यमन्त्री आचार्यले मन्त्रिमण्डल विस्तारका लागि आन्तरिक छलफल गरिरहेको र सहमति जुटेको अवस्थामा आजै विस्तार गर्ने बताउनुभयो । आचार्यले आफ्नो विश्वासिलो प्रदेश सांसदका साथै एकिकृत समाजवादीलाई कमजोर पार्ने रणनीतिका साथ मन्त्रिमण्डल विस्तार गर्ने तयारी गर्नुभएको हो ।

अन्य मन्त्रीमा एकिकृत समाजवादीमा खुलेका इलामकी खिनु लङ्बा लिम्बू र समाजवादीका केन्द्रीय सदस्य महेश रेग्मीकी पत्नी प्रदेशसभा सांसद सावित्रीकुमारी रेग्मीलाई एमालेमा तान्न मन्त्री बनाउने रणनीतिका साथ आन्तरिक छलफल भइरहेको एमाले सम्बद्ध सांसदको भनाई छ । रेग्मीले अहिले नै मन्त्री बन्ने कुरो नरहेको भनिन् भने खिनु लङ्बाले मोवाइलको स्विचअफ गरेर छलफलमा बस्नु भएको हो ।

शक्ति सन्तुलनको दृष्टिकोणले एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीलाई एमालेले सरकारमा पठाउने चर्चा छ । आज नियुक्त हुने मन्त्रीहरुलाई मन्त्रालयको जिम्मेवारी भने पछि तोक्ने आचार्यको तयारी छ ।

आज सानो आकारका मन्त्रिमण्डल विस्तार गरेर प्रदेशसभाबाट विश्वासको मत लिने रणनीतिमा आचार्य रहनुभएको छ । आचार्यले प्रदेशसभामा एकिकृत समाजवादीलाई ३ सांसदमा समिति गरेर विश्वासको मत लिने तयारीमा जुट्नुभएको हो ।

एमालेका सांसद विमल कार्कीले अहिले सानो आकारको मन्त्रिमण्डल विस्तार गरेर मुख्यमन्त्री आचार्यले प्रदेशसभामा बहुमत सिद्ध गर्ने रणनीति रहेको बताउनुभयो । एकिकृत समाजवादी दर्ता भएको २१ दिन कटेपछि मात्रै थप मन्त्री नियुक्त हुने उहाँको भनाई छ ।

९२ सदस्यीय प्रदेशसभामा एमालेका ५१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १/१ जना प्रदेश सांसद छन् । एमालेका ५१ प्रदेश सांसदमध्ये गुलेफुन खातुन किर्ते कागज मुद्दामा उच्च अदालत विराटनगरले दोषी ठहर गरेपछि फरार छन् ।

एकिकृत समाजवादीमा अहिले खुलेका ९ जना प्रदेश सांसदमध्ये खिनु लङ्बा, सावित्रीकुमारी, सुनिताकुमारी चौधरी, कृष्णकुमारी राई, उपेन्द्र घिमिरे र गणेशकुमार काम्बाङ्गलाई एमालेले जसरी पनि तान्ने तयारीका साथ जोडबल लगाइरहेको छ ।

अहिले ४१ प्रदेश सांसदमा समिति भएर अल्पमतमा देखिएका एमाले यी ६ जनासहित प्रदेश सांसदको संख्या ४७ पुर्‍याएर बहुमत कायम राख्ने रणनीतिमा छ । एकिकृत समाजवादीका केन्द्रीय सदस्य तथा प्रदेश सांसद राजेन्द्रकुमार राईले आफ्ना दलमा खुलेकाहरुलाई जुनसुकै मूल्यमा जोगाएर गठबन्धनको सरकार बनाउने जनाएको छ । एमालेलाई बहुमत कायम राख्न ४६ प्रदेश सांसद आवश्यक छ ।

Back to top button