दोलखा महोत्सव तयारी तीब्र

सुजन काफ्ले                                               फागुन ५ गते । जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको दोलखा महोत्सवको तयारी तीव्र पारिएको छ । दोलखा चेम्बर अफ कमर्सको आयोजनामा फागुन १९ देखि २७ गतेसम्म महोत्सवको चल्नेछ ।

२०७२ को भूकम्प र कोभिड १९ का कारण सुस्ताएको दोलखाको आर्थिक अवस्था चलायमान बनाउन सहयोग गर्ने उद्देश्यका साथ दोलखा महोत्सव आयोजना गर्न लागिएको दोलखा चेम्बर अफ कमर्सका उपाध्यक्ष रुद्रजंग बुढाथोकीले बताउनुभयो ।

महोत्सव सञ्चालनका लागि दोलखा चेम्बरका अध्यक्ष विष्णु श्रेष्ठको संयोजकत्वमा दुई सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । महोत्सवको प्रचारप्रसार, आर्थिक, मञ्च व्यवस्थापन तथा मनोरञ्जन व्यवस्थापन उपसमिति गठन गरिएको उपाध्यक्ष बुढाथोकीले बताउनुभयो ।

महोत्सवमा जिल्लाका विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रदर्शन गरिने, पञ्चेबाजा संरक्षणका लागि पञ्चेबाजा बजाउने समूहबीच प्रतियोगिता, खैँजडी भजन, स्थानीय तथा राष्ट्रिय कलाकारको साङ्गीतिक प्रस्तुतिलगायतका कार्यक्रम हुने आयोजकले जनाएको छ ।

सो अवसरमा आर्थिक बहस, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट), विज्ञान तथा रोबोटिक एसोसिएसनको सहयोगमा रोबोट प्रदर्शन, फोटो प्रदर्शनी, कम्प्युटर एसोसिएसनको सहयोगमा निःशुल्क कम्प्युटर मर्मत शिविर तथा साइबर सचेतना कार्यक्रम सञ्चालन हुने बताइएको छ ।

त्यस्तै स्ट्रिट फुड फेस्टिबल, माउन्टेन फ्लाइटमार्फत दोलखाका पर्यटकीय स्थल अवलोकन तथा माथिल्लो तामाकोसी हाइड्रोपावर आयोजनाको सेयर अभौतिकीकरण शिविरलगायतका कार्यक्रम आयोजना गरिने उपाध्यक्ष बुढाथोकीले बताउनुभयो ।

महोत्सवलाई भव्य र सभ्य बनाउन जिसस दोलखाका संयोजक बर्जुराम घतानीको संयोजकत्वमा महोत्सव संरक्षक समिति र भीमेश्वर नगरपालिकाका मेयर ईश्वरनारायण मानन्धरको संयोजकत्वमा महोत्सव संयोजन समिति गठन गरिएको आयोजकले जनाएको छ । महोत्सवमा दोलखा घर भई विभिन्न स्थानमा छरिएका कलाकारलाई एकै थलोमा भेला हुने अवसर हुनेछ ।

Back to top button