सन्दीपलाई अमेरिकाको भिसा सहजीकरण गर्न सरकारको पत्र,प्रक्रियामा ज्ञानेन्द्र शाहीको समेत पहल

सुनौलो अनलाइन
११ जेठ २०८१, बिहिवार

काडमाडौँ-अमेरिकन राजदूतावासले राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेको भिसा अस्वीकार गरेको विषयमा युवा तथा खेलकुद मन्त्रालयले पहल सुरू गरेको छ। बिहीबार युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ र नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्कासँगको कुराकानी पश्चात युवा तथा खेलकुद मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई सन्दीपको भिसा उपलब्ध गराउन आवश्यक सहजीकरण गर्न अनुरोध गर्दै पत्र पठाएको हो।

क्रिकेटर सन्दीप लामिछानेलाई आईसीसी टी–२० विश्वकप खेल्न अमेरिका जाने भिसा प्रक्रिया अघि बढाउन सरकारका निकायसँग पहल अघि बढाइएको छ।

यसैबीच नेपाल क्रिकेट संघका सचिव पारस खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्रबहादुर शाही लगायत सन्दीपलाई लिएर बिहीबार बिहान हरिहरभवनस्थित मन्त्री क्वार्टरमा पुगेका थिए।
सिंहदरबारमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठसँग भिसाको प्रक्रिया अघि बढाउन आग्रह गरेका हुन्।

‘हामी बिहान सिंहदरबार पुगेर गृहमन्त्री, खेलकुदमन्त्रीलाई भिसा प्रक्रिया नरोक्न आग्रह गरेका छौँ,’ शाहीले भने, ‘प्रधानमन्त्रीलाई पनि अनुरोध गर्नका लागि हामीले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छौँ।’ अमेरिकी दूतावासले बुधबार सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो।

उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएपछि सन्दीप विश्वकपको तयारीमा जुटेका थिए। गत जेठ २ मा सन्दीपलाई अदालतले सफाइ दिएको थियो। लगत्तै नेपाल क्रिकेट संघ (क्यान)ले पनि घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट गतिविधिबाट उनको निलम्बन फुकुवा गरेको थियो।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन्दीपलाई टिममा राख्न स्वीकृति दिए पनि अमेरिकाले भिसा नदिएकै कारण उनी टी–२० विश्वकप खेल्न वञ्चित हुने भएका छन्। यसअघि सन्दीपको मुद्दा चलिरहेकाले क्यानले सन्दीपबाहेक १५ सदस्यीय टोली घोषणा गर्दै आईसीसीमा पठाएको थियो।

आईसीसीले सन्दीपको नाम थप्न स्वीकृति दिएपछि क्यानले उनलाई अमेरिका पठाउने प्रक्रिया सुरु गरेको थियो। क्यानले बुधबार क्रिकेट टोलीका लेगस्पिनर लामिछानेलाई आईसीसी टी–२० विश्वकप खेल्न अमेरिका पठाउने तयारी भइरहेको जानकारी विज्ञप्तिमार्फत सार्वजनिक गरेको थियो।

टी–२० विश्वकप क्रिकेट अमेरिका र वेस्ट इन्डिजमा आगामी जुन १ तारिखदेखि हुँदै छ। १० वर्षअघि पारस खड्काको कप्तानीमा पहिलोपटक विश्वकप खेलेको नेपालले अहिले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली त्यहाँ पठाइसकेको छ। टोली अहिले दुवै देशमा अभ्यास खेल खेलिरहेको छ।

विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ। यो समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स छन्। नेपालले जुन ४ तारिखमा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ। जुन ११ मा श्रीलङ्का, जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ तारिख बङ्गलादेशसँग खेल्ने तालिका छ ।

यसअघि अमेरिका पुगेको टोलीमा कप्तान रोहितकुमार पौडेलसँगै, आसिफ शेख, कुशल भुर्तेल, अनिलकुमार साह, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी सामेल छन्।


धेरै पढिएको