कालिञ्चोकको कृषि अनुदान छानबिन हुने : दुरुपयोग गर्नेलाई कारबाही, राम्रो गर्नेलाई प्रोत्साहन
चरीकोट (दोलखा)
दोलखाको कालिञ्चोक गाउँपालिकाले आर्थिक वर्ष २०७४ सालदेखि हालसम्म कृषकहरूलाई वितरण गरेको कृषि तथा पशुपालन अनुदानको व्यापक अनुगमन र छानबिन गर्ने भएको छ।
गाउँपालिकाले विगत ९ वर्षको अवधिमा विभिन्न कृषक, फर्म तथा समूहहरूलाई प्रदान गरेको अनुदानको वास्तविक अवस्था, त्यसको सदुपयोग वा दुरुपयोगबारे सत्यतथ्य पत्ता लगाउन एक उच्चस्तरीय अनुगमन समिति गठन गरी काम अगाडि बढाएको हो।
गाउँपालिका कार्यपालिका सदस्य भवानी थामीको संयोजकत्वमा गठित उक्त अनुगमन समितिमा भेटेरिनरी (पशु सेवा) शाखा प्रमुख, कृषि शाखा प्रमुख र अन्य तोकिएका सदस्यहरू रहेका छन्।
अनुदान दुरुपयोग गर्नेलाई कानुनी दायरामा ल्याउछौ : अध्यक्ष शिवाकोटी
कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुन शिवाकोटीका अनुसार विगतदेखि नै कृषि क्षेत्रको विकासका लागि ठुलो रकम अनुदानमा गइरहेको भए पनि त्यसको वास्तविक प्रतिफल र प्रभावकारिता कस्तो रह्यो भन्ने कुरा स्पष्ट पार्न यो कदम चालिएको हो।
अध्यक्ष शिवाकोटीले भन्नुभयो— “२०७४ सालदेखि पालिकाले वितरण गरेका साना-ठुला सबै कृषि अनुदानको सुक्ष्म अनुगमन भइरहेको छ। कसैले सरकारी अनुदानको दुरुपयोग गरेको, लक्षित शीर्षकमा काम नगरी बजेट हिनामिना गरेको पाइएमा त्यस्ता व्यक्ति वा फर्मलाई कानुनी दायरामा ल्याएर कडा कारबाही गरिनेछ।”
भदौ १५ भित्रै प्रतिवेदन बुझाउनुपर्ने
संयोजक भवानी थामी नेतृत्वको समितिलाई आगामी भदौ १५ गतेभित्र गाउँपालिका समक्ष विस्तृत छानबिन र अनुगमन प्रतिवेदन बुझाउने कडा समयसीमा (डेडलाइन) दिइएको छ।
समितिले अहिले पालिकाभित्र अनुदान पाएका प्रत्येक कृषक र फर्मको स्थलगत निरीक्षण गरी तथ्याङ्क संकलन र प्रमाणीकरणको काम तीव्र गतिमा गरिरहेको छ।
वास्तविक किसानलाई थप प्रोत्साहन गरिने
अनुदानको दुरुपयोग रोक्ने मात्र नभई प्राप्त अनुदानलाई सहि सदुपयोग गरेर कृषि र पशुपालनमा उदाहरणीय काम गरिरहेका वास्तविक किसानहरूको पहिचान गर्नु पनि यस अनुगमनको मुख्य उद्देश्य रहेको गाउँपालिकाले जनाएको छ।
अनुगमनका क्रममा उत्कृष्ट काम गरेको पाइएका वास्तविक र जेहेन्दार कृषकहरूलाई गाउँपालिकाले आगामी दिनमा थप विशेष प्रोत्साहन, सहुलियत तथा पुरस्कारका कार्यक्रमहरू समेत ल्याउने नीति लिएको छ।
गाउँपालिकाको यो कडा र पारदर्शी कदमले पालिकाभित्रका वास्तविक किसानहरू उत्साहित भएका छन् भने कागजमा मात्र सीमित रहने प्रवृत्तिको अन्त्य हुने विश्वास लिइएको छ।

सुनौलो अनलाइन
प्रतिक्रिया दिनुहोस