यस वर्षको ‘नन्दप्रसाद जानुका स्मृति सम्मान’ दोलखाका शैक्षिक अगुवा आत्माकृष्ण श्रेष्ठलाई प्रदान गरिने
काठमाडौँ, २८ असार ।
दोलखाको शैक्षिक, सामाजिक तथा समग्र विकासमा अतुलनीय योगदान पुर्याउनुहुने शिक्षासेवी इञ्जिनियर आत्माकृष्ण श्रेष्ठ यस वर्षको ‘नन्दप्रसाद जानुका स्मृति सम्मान २०८३’ बाट सम्मानित हुनुहुने भएको छ।
नन्दप्रसाद जानुका फाउण्डेशनले २५ हजार रुपैयाँ नगद र सम्मानपत्रसहित प्रत्येक वर्ष प्रदान गर्दै आएको यो सम्मान यो वर्ष ८८ वर्षीय श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरिएको फाउण्डेशनका अध्यक्ष अजयबाबु शिवाकोटीले जानकारी दिनुभयो।
आगामी भदौ ४ गते नन्दप्रसाद शिवाकोटीको जन्म जयन्तीको अवसरमा काठमाडौँमा आयोजना हुने विशेष कार्यक्रममा श्रेष्ठलाई यो सम्मान अर्पण गरिनेछ।
नेपाल सरकारको सहसचिव पदबाट सेवा निवृत्त हुनुभएका श्रेष्ठ गौरीशंकर बहुमुखी क्याम्पस चरीकोट र गौरीशंकर सामुदायिक पुस्तकालयका संस्थापक अध्यक्ष हुनुहुन्छ।
साथै, उहाँ सिंगटी सामुदायिक अस्पताल, दोलखा विकास मञ्च, रूपा फाउण्डेशन लगायत दर्जनौँ सामाजिक र शैक्षिक संस्थाहरूको संस्थापक रही दोलखाको उन्नयनमा अहोरात्र खटिनुभएका आदरणीय व्यक्तित्व हुनुहुन्छ।
साविकको पूर्व २ नम्बर (हाल दोलखा) का शैक्षिक अगुवा तथा सामाजिक-राजनीतिक व्यक्तित्व स्वर्गीय नन्दप्रसाद शिवाकोटी र उहाँकी धर्मपत्नी जानुका शिवाकोटीको स्मृतिमा स्थापित यो फाउण्डेशनले यसअघि २०८१ मा पत्रकार शम्भु गौतम र २०८२ मा शिक्षासेवी मिलनराज तुलाधरलाई सम्मानित गरिसकेको छ।

सुनौलो अनलाइन
प्रतिक्रिया दिनुहोस