दोलखा पूर्वाधार कार्यालयको सक्रियता: ८१ प्रतिशत समग्र भौतिक प्रगति हासिल
चरिकोट (दोलखा) ।
बागमती प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय, दोलखाले चालु आर्थिक वर्षमा विकास निर्माण र बजेट कार्यान्वयनको क्षेत्रमा उत्साहजनक सफलता हासिल गरेको छ।
कार्यालयले सार्वजनिक गरेको प्रगति प्रतिवेदन अनुसार चालु र पूँजीगत खर्च शीर्षकमा समग्र आर्थिक प्रगति ६१.९६ प्रतिशत हासिल भएको छ।
कुल विनियोजित १ अर्ब १९ करोड ६६ लाख ६३ हजार रुपैयाँ बजेटमध्ये ७४ करोड १५ लाख १० हजार २१० रुपैयाँ खर्च गर्दै कार्यालयले आफ्नो कार्यक्षमता प्रमाणित गरेको हो।
कार्यालयले सार्वजनिक गरेको वास्तविक वित्तीय विवरण अनुसार चालु खर्चतर्फ ७७.३८ प्रतिशत प्रगति भएको छ भने पूँजीगत खर्चतर्फ ६१.७९ प्रतिशत प्रगति देखिएको छ।
चौतर्फी चुनौती र संकटका बीच कुशल समन्वय
यस वर्ष विकास निर्माणको काम सहज भने थिएन। भदौ २२ र २३ गते भएको जेन्जी (Gen-Z) आन्दोलनका कारण लगातार तीन महिनासम्म बजेट रोक्का भएको थियो भने आन्दोलनको प्रभाव स्वरूप प्रदेश सरकारले कुल बजेटको ३० प्रतिशत रकम कटौती समेत गरेको थियो।
त्यस्तै, विश्व बजारमा चलिरहेको अमेरिका–इरान युद्धका कारण इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धि (महँगी) अत्यधिक आकाशिएको थियो।
यस्ता गम्भीर चुनौतीहरूका बीच कार्यालय प्रमुखको विशेष सक्रियतामा निर्माण व्यवसायी (ठेकेदार) हरूसँग निरन्तर संवाद, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूसँग सघन समन्वय र विभिन्न सरोकारवाला निकायहरूसँग कुशल सहकार्य गरिएकै कारण यो ऐतिहासिक प्रगति हासिल सम्भव भएको हो।
प्रादेशिक सडक र लोकमार्ग निर्माणमा व्यापक खर्च
जिल्लाको मेरुदण्ड मानिने सडक पूर्वाधारतर्फ यस वर्ष ठूलो रकम खर्च भएको छ। प्रादेशिक लोकमार्ग शीर्षकमा २२ करोड ३४ लाख ५० हजार रुपैयाँ बजेट रहेकोमा १७ करोड २४ लाख ३१ हजार ९४० रुपैयाँ खर्च भई ७७.१७ प्रतिशत वित्तीय प्रगति भएको छ।
यसैगरी, प्रादेशिक मार्ग सडकहरूका लागि ३५ करोड २९ लाख रुपैयाँ विनियोजन भएकोमा १६ करोड ६० लाख १७ हजार ५८० रुपैयाँ खर्च भएको छ। शहरी तथा स्थानीय सडकतर्फ सबैभन्दा ठूलो आकारको ५४ करोड २५ लाख ४५ हजार रुपैयाँ बजेट रहेकोमा कार्यालयले ३४ करोड ३७ लाख १० हजार ३०० रुपैयाँ खर्च गर्न सफल भएको छ।
पुल निर्माण र सडक मर्मतमा उत्कृष्ट वित्तीय प्रगति
सडकका अतिरिक्त पुल र मर्मत सम्भारका योजनाहरूमा कार्यालयको खर्च गर्ने क्षमता उत्कृष्ट देखिएको छ। प्रादेशिक सडकपुल तथा झोलुङ्गे पुलतर्फ कुल ३ करोड ९० लाख रुपैयाँ बजेट विनियोजन भएकोमा ३ करोड २२ लाख ७४ हजार ६८० रुपैयाँ खर्च भएको छ, जुन कुल बजेटको ८२.७६ प्रतिशत हो।
त्यस्तै, सडक मर्मत सम्भार, सुरक्षा तथा अन्य पूर्वाधारतर्फ १ करोड ५४ लाख रुपैयाँ विनियोजन भएकोमा १ करोड २७ लाख ८६ हजार ९० रुपैयाँ खर्च भई ८२.९१ प्रतिशतको उच्च प्रगति हासिल भएको छ।
कार्यालय सञ्चालन अन्तर्गत चालुतर्फ १ करोड ३२ लाख ७ हजार ७६० रुपैयाँ बजेटमा १ करोड २ लाख १९ हजार ८३० रुपैयाँ र पूँजीगततर्फ १ करोड १ लाख ६० हजार रुपैयाँ बजेटमा ४० लाख ८० हजार १०० रुपैयाँ खर्च भएको छ।
स्थानीय तहहरूमा विकासको सञ्जाल
दोलखा जिल्लाका ९ वटा स्थानीय तहहरूलाई समेटेर पूर्वाधार विकास कार्यालयले जिल्लाभर विकासको ठूलो सञ्जाल खडा गरेको छ। यस वर्ष कुल १ सय ८६ वटा विभिन्न आयोजनाहरू तीव्र गतिमा सञ्चालन गरिएका छन्, जसमध्ये ११ वटा बहुवर्षीय र ५ वटा बहुवर्षीय स्रोत सुनिश्चितता प्राप्त आयोजनाहरू रहेका छन्।
सबैभन्दा बढी भीमेश्वर नगरपालिकामा ३२ वटा र जिरी नगरपालिकामा २५ वटा आयोजनाहरू सञ्चालनमा छन्।
त्यस्तै मेलुङ गाउँपालिकामा २४, बैतेश्वरमा २३, तामाकोशीमा २२, गौरीशङ्करमा १६, शैलुङ र कालिञ्चोकमा १५–१५ तथा विगु गाउँपालिकामा ६ वटा आयोजनाहरू व्यवस्थापन गरेर कार्यालयले आफ्नो कुशल प्रशासनिक नेतृत्व प्रदर्शन गरेको छ।
विशेष गरी भीमेश्वर, कालिञ्चोक र मेलुङमा खरिद प्रक्रिया र गुरुयोजना स्वीकृतिको काम समयमै सकेर कार्यालयले कानुनी र प्राविधिक चुस्तता देखाएको छ भने गौरीशङ्करमा सम्झौता सम्पन्न भइसकेको छ। विगु गाउँपालिकामा बहुवर्षीयतर्फ एउटा सडक र दुईवटा पुलको निर्माण कार्य पूर्ण रूपमा सम्पन्न भइसकेको छ।
भौतिक प्रगतिमा ऐतिहासिक रेकर्ड ८१ प्रतिशत
पूर्वाधार विकास कार्यालय दोलखाको सबैभन्दा सबल र प्रशंसनीय पक्ष यसको भौतिक प्रगति देखिएको छ। वित्तीय खर्चमा प्राविधिक कारणले केही रकम भुक्तानी हुन बाँकी देखिए पनि जमिनमा भएको वास्तविक काम (भौतिक प्रगति) भने अत्यधिक उच्च छ।
कार्यालयका अनुसार सालमसाली आयोजनाहरूको भौतिक सम्पन्नता दर ९१ प्रतिशत पुगेको छ, जुन आफैँमा एउटा ऐतिहासिक र उदाहरणीय रेकर्ड हो।
त्यसैगरी बहुवर्षीय लक्षित आयोजनाहरूको सम्पन्न प्रतिशत ७१ रहेको छ भने जिल्लाभर सञ्चालित सम्पूर्ण आयोजनाहरूको समग्र भौतिक प्रगति ८१ प्रतिशत पुगेको छ। ढिलासुस्ती र बजेट फ्रिज हुने नेपाली विकास मोडलको आम प्रवृत्ति विपरित दोलखाको पूर्वाधार विकास कार्यालयले समयमै गुणस्तरीय काम गरेर जिल्लाको समृद्धिमा सहयोग पुर्याएको छ।
कार्यालयको यो सक्रियता र परिणाममुखी कार्यशैली अन्य जिल्लाका विकास कार्यालयहरूका लागि पनि अनुकरणीय बनेको छ।

सुनौलो अनलाइन
प्रतिक्रिया दिनुहोस