​एसोसिएसनको ‘स्वघोषित’ अध्यक्ष नबन्न केसीलाई व्यवसायीको अनुरोध

सुनौलो अनलाइन
२९ असार २०८३, सोमबार

उद्धव विश्वकर्मा, काठमाडौँ।
​नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनमा विवाद चुलिएको छ। गत असार ५ गते सम्पन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार रामप्रसाद गैरेले किशोर कुमार केसीलाई पराजित गर्दै विजयी भएका थिए।तर, पछि प्राविधिक कारण देखाउँदै गैरेलाई अयोग्य ठहर गरिएपछि संस्थामा नेतृत्वको विवाद सुरु भएको हो।

​गैरे अयोग्य ठहरिएसँगै जिल्ला प्रशासन कार्यालय (जिप्रका), काठमाडौँले निर्वाचनमा पराजित भएका उम्मेदवार किशोर कुमार केसीलाई अध्यक्षको रूपमा कामकाज गर्न भन्दै पत्राचार गरेपछि विवादले उग्र रूप लिएको छ।

जिल्ला प्रशासनको कदम ‘विधान विपरीत’ भएको ठहर
​गैरे पक्षधर सहितको बहुमत कार्यसमिति, संघका पूर्वअध्यक्ष, सल्लाहकार र सिङ्गो कार्यसमितिको टोलीले काठमाडौँका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) ईश्वरराज पौडेललाई भेटेर ध्यानाकर्षण गराएका छन्। प्रजिअ पौडेलकै कार्यकक्षमा पुगेको टोलीले निर्वाचनमा पराजित व्यक्तिलाई अध्यक्ष तोकेर पत्र पठाउनु जिल्ला प्रशासन कार्यालयको गम्भीर त्रुटि भएको भन्दै उक्त कदम सच्याउन माग गरेको छ।

उनीहरूले संस्थाको विधान अनुसार थप निकासको मार्ग निर्देशन गर्न समेत ध्यानाकर्षण गराएका छन्।
सुवर्ण लामालाई कार्यवाहकको जिम्मेवारी
​कार्यसमितिको निर्णय अनुसार संस्थाका प्रथम उपाध्यक्ष सुवर्ण लामालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ। यो निर्णय नै लोकतान्त्रिक एसोसिएसनको आधिकारिक अडान रहेको कुरा प्रजिअ समक्ष स्मरण गराइएको छ।
​एसोसिएसनका महासचिव सुमनराज पाण्डेका अनुसार प्रशासनले व्यवसायीको जनादेश र संस्थाको विधान दुवैलाई कुल्चेर एकपक्षीय रूपमा पत्र पठाएको हो। उनले भने:
​”यस कदमले संस्थाको गरिमा घटाएको छ। बहुमत कार्यसमितिले गरेको निर्णय नै आधिकारिक हो र सुवर्ण लामाज्यू नै अहिले कार्यवाहक अध्यक्ष हुनुहुन्छ।”
​”भ्रम सिर्जना नगर्नुस्” – पूर्वअध्यक्ष गुरुङ
​चर्चित व्यवसायी तथा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष भुवनसिंह गुरुङले किशोर कुमार केसीलाई ‘स्वघोषित’ अध्यक्षको भूमिका निर्वाह नगर्न अनुरोध गरेका छन्। उनले केसीलाई एसोसिएसनको कुनै पनि गतिविधि सञ्चालनमा सहभागी नहुन र भ्रम सिर्जना नगर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयलाई पनि विधानसम्मत निर्णय गर्न माग गरेका छन्।
​हाल यो नेतृत्व विवादका कारण एसोसिएसनको दैनिक कामकारबाही पूर्ण रूपमा प्रभावित भएको छ। जिल्ला प्रशासन कार्यालयले भने दुवै पक्षको कागजात अध्ययन गरेर चाँडै उचित निर्णय लिने जनाएको छ।


धेरै पढिएको