पत्रकार कुट्ने वकिललाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन अगाडि धर्ना

सुनौलो अनलाइन
१ भदौ २०८२, आइतबार

काठमाडौ । पत्रकार कुट्ने वकिलहरुलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि पत्रकारहरु धर्नामा बसेका छन्।

गुठी संस्थानबाट २० वर्षको लागि लिजमा लिएको जग्गामा तारबार गरिरहेको समयमा पत्रकारमाथि आक्रमण गर्ने वकिलहरुलाई प्रहरीले अहिलेसम्म कुनै कारबाही नगरेको भन्दै जिल्ला प्रशासन कार्याल अगाडि ११ देखि १२ बजेसम्म पत्रकारहरु एक घण्टा धर्नामा बसेका हुन्।

पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही गर, प्रेस स्वतन्त्रताको रक्षा गर, पत्रकारहरूलाई सुरक्षा देऊ, सत्य बोल्ने कलमलाई कुनै बलले रोक्दैनलगायतका नारा लेखिएको प्लेकार्ड बोकेर पत्रकार महासंघ धनुषाबाट जिल्ला प्रशासन कार्यालयमा पुगेर पत्रकारहरु गेटको अगाडि धर्नामा बसेका हुन्।

गत साउन २७ गते गुठी संस्थानबाट लिजमा प्राप्त ४ कट्ठा जग्गामा तारबार गर्ने क्रममा नेपाल बार एशोसिएसन जनकपुरधामका पदाधिकारीसहित वकिलहरूको एक समूहले पत्रकारमाथि आक्रमण गरेका थिए। वकिलको आक्रमणमा परेर महासंघका मधेस प्रदेश अध्यक्ष श्यामप्रसाद बनजारा, महासचिव शैलेन्द्र महतो क्रान्ति, पत्रकार दिवाकर राय, अनिल निरालालगायत घाइते भएका थिए।