रास्वपाले घुमन्ते उम्मेदवारहरू निकाल्यो : महेश बस्नेत

सुनौलो अनलाइन
१६ माघ २०८२, शुक्रवार

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले देशभर घुमन्ते उम्मेदवार जाने चलन चलाएको बताएका छन् । शुक्रबार नेकपा एमाले युवा सङ्घको पहिलो बैठकमा बोल्दै नेता बस्नेतले यस्तो बताएका हुन् ।

‘अहिले फेरि केपी ओलीलाई सदनमा आउन नदिने भनेर काठमाडौँ महानगरका मेयर बालेन शाह झापा जाँदैछन्’, बस्नेतले भने, ‘आफू जन्मेको ठाउँमा चुनाव लड्ने होला । आफू हुर्केको र मतदाता भएको ठाउँमा चुनाव लड्ने होला ।

अहिले घुमन्ते उम्मेदवारहरू देशभरि जाने चलन राष्ट्रिय स्वतन्त्र पार्टीले निकालेको छ । घुमन्तेहरूलाई घुमाइदिनुस् । विकास देखाइदिनुस्, समृद्धि देखाइदिनुस् । भोट नेकपा एमालेलाई हाल्नुस्।’

नेता बस्नेतले यसपालिको निर्वाचनमा घुमन्ते उम्मेदवार बाइबाई र रैथाने उम्मेदवार हाई हाईको नारा लगाउन एमाले कार्यकर्तालाई आग्रह समेत गरे । यो निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन लड्दै आएको झापा–५ बाट रास्वपा नेता बालेन शाह चुनाव लड्न लागेपछि बस्नेतले यस्तो बताएका हुन् ।


धेरै पढिएको