रविले कारागारको भित्तामा लेखे – अब कृष्ण जन्मिने छैन, जन्मेकाहरू नै कृष्ण बन्नुपर्नेछ !

सुनौलो अनलाइन
१ भदौ २०८२, आइतबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट काठमाडौँको नख्खु कारागार स्थानान्तरण गरिएको छ।

पार्टी लुम्बिनी प्रदेशको प्रशिक्षण कार्यक्रममा सहभागी रहेका नेता मनिष झा र उपसभापति डा. स्वर्णिम वाग्लेले लामिछानेलाई कारागारमै भेट्ने प्रयास गरेका थिए। तर कारागार प्रशासनले अनुमति नदिएपछि उनीहरूले भैरहवा विमानस्थलको प्रतीक्षालयमा करिब दुई मिनेट लामिछानेसँग भेट गरेका हुन्।

सेतो सर्ट र खरानी रङको पाइन्ट लगाएका लामिछाने उज्यालो अनुहारसहित आत्मविश्वासी देखिएको झाको फेसबुक पोस्टमा उल्लेख छ। भेटका क्रममा लामिछानेले आफू १२६ दिन रुपन्देही कारागारमा बसेको जानकारी दिँदै भने, ‘पुरै नेपाल मेरो घर हो। सबै नेपाली आफन्त हुन्। भैरहवाको आमा-बुवा, दाजुभाइ–दिदीबहिनीप्रति म कृतज्ञ छु। सुरक्षाकर्मी र कारागार प्रशासनले गरेको व्यवस्थापनप्रति पनि आभारी छु।’