बागमती प्रदेश मन्त्रिपरिषद् निर्णय: १४४ दरबन्दी कटौती, ओएण्डएम स्वीकृत
मकवानपुर। बागमती प्रदेश सरकारले प्रदेशभित्रका विभिन्न मन्त्रालय तथा कार्यालयहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) स्वीकृत गर्दै मौजुदा दरबन्दी पुनरवलोकन गरी १४४ वटा दरबन्दी कटौती गर्ने निर्णय गरेको छ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ८ वटा मन्त्रालय र मातहतका कार्यालयहरूको ओएण्डएम स्वीकृत गरेको हो।
प्रदेश सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार विकास मन्त्री भरतबहादुर केसीका अनुसार अब प्रदेशअन्तर्गत कुल १८० वटा कार्यालय कायम रहनेछन्। यसअघि कायम रहेको ४ हजार ८१४ दरबन्दीलाई घटाएर ४ हजार ६८० कायम गरिएको छ।
यसैगरी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रस्तावमा समस्याग्रस्त सहकारी व्यवस्थापनका लागि कार्य सकिएपछि स्वतः खारेज हुने गरी २४ जनाको अस्थायी दरबन्दी स्वीकृत गरिएको छ। साथै, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय मातहतका सरसफाइ डिभिजनहरूमा कार्यरत कर्मचारी व्यवस्थापनका लागि ९० जनाको अस्थायी दरबन्दी स्वीकृत गरिएको मन्त्री केसीले जानकारी दिए।
बैठकले कृषि, वन तथा वातावरण मन्त्रालय मातहतको प्रदेश वन सेवा केन्द्रका प्रमुख (११औँ तह) निरञ्जन श्रेष्ठले दिएको राजीनामासमेत स्वीकृत गरेको छ।

सुनौलो अनलाइन
प्रतिक्रिया दिनुहोस