तामाकोशीका ८ विद्यालयमा आवासीय कक्षा: SEE नतिजा सुधार पालिकाको लक्ष्य
दोलखा । तामाकोशी गाउँपालिकाले आगामी माध्यमिक शिक्षा परीक्षा (SEE) लक्षित गर्दै आवासीय शिक्षण–सिकाइ कार्यक्रम सञ्चालन गरेको छ।
कक्षा १० का विद्यार्थीलाई केन्द्रमा राखी गाउँपालिका भित्रका आठवटै माध्यमिक विद्यालयमा कार्यक्रम सुरु गरिएको गाउँपालिकाले जनाएको छ।
शैक्षिक गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै मंसिरको पहिलो हप्तादेखि नियमित कक्षा, अभ्यास परीक्षा तथा पुनरावृत्तिमूलक सिकाइ प्रक्रिया प्रभावकारी रूपमा चलिरहेको अध्यक्ष प्रोण प्रताप केसीले जानकारी दिनुभयो। उहाँका अनुसार विद्यार्थीको कमजोरी पहिचान गरी पुनरावृत्ति, अभ्यासमूलक सिकाइ र दैनिक मूल्यांकन कार्यलाई विद्यालयस्तरमै मजबुत बनाइएको छ।
उपाध्यक्ष सिर्जना सुवेदीले आवासीय कार्यक्रम माध्यमिक तहको सिकाइस्तर सुधार गर्ने गाउँपालिकाको दीर्घकालीन लक्ष्यअनुरूप अघि बढाइएको बताउनुभयो । उहाले भन्नुभयो, “हाम्रो उद्देश्य केवल SEE नतिजा सुधार मात्र होइन, विद्यार्थीको आधारभूत सिकाइ क्षमतामा स्थायी सुधार ल्याउनु पनि हो,”।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले पालिकाले प्रति विद्यार्थी १३ हजार रुपैयाँ गाउँपालिकाले उपलब्ध गराउने बताउनुभयो । सो रकमबाट चार महिनासम्म विद्यार्थीका लागि खानपान, छात्रावास, अध्ययन सामग्रीलगायत सम्पूर्ण सुविधा उपलब्ध गराइनेछ। अध्ययनमै केन्द्रित वातावरण निर्माण गर्नु पालिकाको मुख्य उद्देश्य रहेको प्रमुख दर्जिले बताउनुभयो ।
शिक्षा शाखा प्रमुख गोबिन्द डिसीले दैनिक अभ्यास, नियमित परीक्षण, कमजोरी पहिचान तथा अनुगमनको कारण विद्यार्थीको सिकाइस्तरमा उल्लेख्य सुधारको अपेक्षा गरिएको बताउनुभयो।
अभिभावक, शिक्षक र स्थानीय तहको संयुक्त प्रयासले कार्यक्रम प्रभावकारी बन्दै गएको सरोकारवालाहरूले बताएका छ्न।
गाउँपालिकाका अनुसार श्री कालिका मा.वि. हाँवा, श्री महेन्द्र मा.वि. च्यामा, श्री जनजागृति मा.वि. सहरे, गोलेश्वर मा.वि. मालु, सितापाईला मा.वि. जफे, अमर मा.वि. झुले, जनप्रभात मा.वि. झुले र नारायणी मा.वि. भिरकोटमा आवासीय पठनपाठन सञ्चालन भइरहेको छ।
गाउँपालिकाले शिक्षक उपस्थिति, विद्यार्थीको सिकाइ प्रगति, अनुशासन र प्रेरणासहित सबै पक्षको नियमित अनुगमन गर्दै कार्यक्रमलाई अझ प्रभावकारी बनाउन आवश्यक स्रोत तथा प्रविधिको व्यवस्थापन सुदृढ गरिने जनाएको छ।

सुनौलो अनलाइन
प्रतिक्रिया दिनुहोस