गोपिनी शाहको अध्यक्षतामा नेपाली रक्तदाता संघ यूएईको नयाँ कार्यसमिति चयन

सुनौलो अनलाइन
४ जेठ २०८३, सोमबार

यूएई । नेपाली रक्तदाता संघ यूएईको प्रथम ऐतिहासिक अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सफलतापूर्वक सम्पन्न भएको छ।

“हाम्रो विश्वव्यापी अभियान, जहाँ नेपाली, त्यहाँ रक्तदान” भन्ने मूल नाराका साथ सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि गोपिनी शाहको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।

प्रवासमा सामाजिक सेवामा एक दशकभन्दा बढी समयदेखि सक्रिय शाहको नेतृत्वलाई प्रवासमा महिला नेतृत्वको एक सशक्त र प्रेरणादायी उदाहरणका रूपमा हेरिएको छ ।

यस्तो छ नयाँ कार्यसमिति:
​अधिवेशनबाट उपाध्यक्षमा सुनिता कार्की (शर्मिला), सचिवमा सचीन्द्र श्रेष्ठ, कोषाध्यक्षमा पंकज गिरी र सह-सचिवमा सानु शर्मा चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरूमा सुदिप खराल, मिना महत, राजु दुलाल, युनिक लिम्बू, कमल अनुप भुसाल, श्री भवानी नेपाल, रामबाबु न्यौपाने, नारायण आचार्य, सुमित्रा श्रेष्ठ र शंकर मुडभरी रहनुभएको छ ।

भव्य समारोहबीच अधिवेशन सम्पन्न
​नेपाली महावाणिज्य दूतावास दुबईका उपमहावाणिज्यदूत कृष्णप्रसाद चापागाईंको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा गैरआवासीय नेपाली संघ, नेपाल पत्रकार महासंघ यूएई, विभिन्न जातीय, क्षेत्रीय एवं वैचारिक संघसंस्थाका प्रतिनिधि, व्यवसायी तथा समाजसेविहरूको बाक्लो उपस्थिति थियो ।

कार्यक्रममा दुबई हेल्थ अथोरिटी (DHA) अन्तर्गत दुबई ब्लड डोनेसन सेन्टरका ब्लड डोनेसन क्याम्पेन कोअर्डिनेटरद्वय एमएस सिजी जर्ज र क्रिस्टिन के. जोसेफको विशेष उपस्थिति रहेको थियो।

सेन्टरको सहकार्यमा संघले यूएईमा हालसम्म ५ वटा सफल रक्तदान कार्यक्रम सम्पन्न गरिसकेको छ ।

योगदानको उच्च कदर
​कार्यक्रममा सुजन थापा संयोजक रहेको निर्वाचन समितिले अधिवेशनलाई मर्यादित रूपमा सम्पन्न गराएको थियो भने पत्रकार उमाकान्त पाण्डेले कार्यक्रम सञ्चालन र लालबहादुर धेंगाले तस्विर संकलनमा सहयोग गर्नुभएको थियो ।

संघका संरक्षक एवं अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघका कोषाध्यक्ष (साथै दोलखाली समाज यूएईका अध्यक्ष) सुनिल राज श्रेष्ठले एक विशेष सन्देश जारी गर्दै अधिवेशन सफल पार्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभएको छ ।

उहाँले संस्थाका निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार अजय सत्याल (जसले २२३ पटक रक्तदान गरिसक्नुभएको छ), निवर्तमान अध्यक्ष राहुल रेग्मी, अन्तर्राष्ट्रिय संघका संस्थापक अध्यक्ष स्वर्गीय अर्जुनप्रसाद मैनाली तथा अभियानका अभियन्ताहरू नवराज बस्नेत र लोकप्रसाद दाहालको योगदानको स्मरण गर्दै धन्यवाद व्यक्त गर्नुभयो ।

सन् २०२० मा स्थापना भई प्रवासमा मानवीय सेवाको क्षेत्रमा उदाहरणीय बनेको यस संस्थाले आगामी दिनमा पनि “रक्तदान नै जीवनदान” भन्ने भावनाका साथ अभियानलाई अझ व्यापक बनाउने प्रतिबद्धता जनाएको छ ।