भीमेश्वर–७ मा निःशुल्क स्वास्थ्य शिविर: ५१६ जना लाभान्वित
चरीकोट (दोलखा) — भीमेश्वर नगरपालिका – ७ मा सञ्चालित एकदिवसीय निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट ५१६ जना स्थानीय नागरिकले सेवा लिएका छन्।
गाउँघरमै विशेषज्ञ स्वास्थ्य सेवा पुर्याई टाढाका अस्पताल धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यले वडाले शिविर आयोजना गरेको थियो।
भीमेश्वर–७ वडा कार्यालय र लियो क्लब धुलिखेलको संयुक्त आयोजना तथा धुलिखेल अस्पताल दोलखा र लेक हेड एजुकेसन काठमाडौँको सहयोगमा शिविर सञ्चालन भएको हो।
शिविरमा हाडजोर्नी, स्त्रीरोग, फिजियोथेरापी, भिडियो एक्सरे, दन्त, छाला र बालरोगका साथै जनरल ओपीडी सेवा उपलब्ध गराइएको थियो। परीक्षणका क्रममा जटिल समस्या देखिएका २१ जना बिरामीलाई थप उपचार तथा शल्यक्रिया (अप्रेसन) का लागि सिफारिस गरिएको वडाध्यक्ष विनोद तामाङले जानकारी दिनुभयो।
यस्तै, २२ जना महिलाको गरिएको भिआइए (पठेघरको मुखको क्यान्सर) परीक्षणमा एक जनाको रिपोर्ट पोजेटिभ आएको छ।
वडामै भिडियो एक्सरे र भिआइएजस्ता महँगा परीक्षणसहित विशेषज्ञ सेवा निःशुल्क पाउँदा विशेषगरी ज्येष्ठ नागरिक, महिला तथा आर्थिक अवस्था कमजोर भएका स्थानीयलाई ठूलो आर्थिक राहत पुगेको छ।
वडा कार्यालयले नागरिकलाई घरदैलोमै सहज स्वास्थ्य सेवा दिलाउन आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

सुनौलो अनलाइन
प्रतिक्रिया दिनुहोस