खिम्ती ग्रामीण विद्युत सहकारीको सेवा डिजिटल: घरमै बसेर ई–सेवाबाट महसुल बुझाउन सकिने
चरिकोट, दोलखा
खिम्ती ग्रामीण विद्युत तथा सहकारी संस्थाले विद्युत महसुल भुक्तानी प्रक्रियालाई सहज, सरल र प्रविधिमैत्री बनाउन ई–सेवा (eSewa) मार्फत अनलाइन भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ।
यससँगै महसुल तिर्नकै लागि अनिवार्य रूपमा भुक्तानी केन्द्रसम्म पुग्नुपर्ने बाध्यता हटेको छ।
समय र खर्च जोगाउने प्रविधिमैत्री कदम
संस्थाका प्रबन्धक कुमार फुयालका अनुसार अनलाइन भुक्तानी सेवा सुरु भएपछि उपभोक्ताले घरमै बसेर मोबाइल फोनमार्फत विद्युत महसुल बुझाउन सक्नेछन्।
विशेष गरी भौगोलिक रूपमा टाढा रहेका बस्तीका बासिन्दा र व्यस्त दैनिकीका कारण महसुल केन्द्रसम्म पुग्न समय निकाल्न कठिन हुने सेवाग्राहीका लागि यो सेवाले ठूलो राहत पुर्याउनेछ।
यसबाट उपभोक्ताको समय र आवतजावत गर्दा हुने अनावश्यक खर्चसमेत बचत हुनेछ ।
उपभोक्ताको सुविधाका लागि तीन सहज विकल्प
संस्थाले उपभोक्ताको अनुकूलतालाई ध्यानमा राख्दै महसुल भुक्तानीका लागि तीनवटा विकल्प उपलब्ध गराएको छ।
उपभोक्ताले ई–सेवामार्फत घरमै बसेर अनलाइन भुक्तानी गर्न सक्नेछन्। त्यसैगरी मिटर रिडिङका लागि कर्मचारी घरमा पुगेका बेला पनि सोझै महसुल बुझाउन सकिनेछ भने साबिकबमोजिम भुक्तानी केन्द्रमै उपस्थित भएर रकम बुझाउन सकिने व्यवस्थालाई पनि निरन्तरता दिइएको छ।
दैनिक सेवा प्रवाहमा डिजिटल प्रविधिको प्रयोग बढाउँदै संस्थाको सेवालाई थप प्रभावकारी, व्यवस्थित र उपभोक्तामैत्री बनाउने उद्देश्यले यो कदम चालिएको हो। खिम्ती ग्रामीण विद्युत तथा सहकारी संस्थाले आफ्ना सम्पूर्ण ग्राहकलाई उपर्युक्त विकल्पहरूको प्रयोग गर्दै समयमै विद्युत महसुल बुझाउन अनुरोध गरेको छ।

सुनौलो अनलाइन
प्रतिक्रिया दिनुहोस