नेविसंघ काठमाडौँ अध्यक्ष अंशुल केसी बागमती प्रदेशबाट केन्द्रीय सदस्यमा निर्वाचित
काठमाडौ । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) काठमाडौँ जिल्लाका सफल तथा लोकप्रिय अध्यक्ष अंशुल केसी नेपाली कांग्रेसको खुल्ला युवा तर्फबाट बागमती प्रदेशको केन्द्रीय सदस्य पदमा भव्य मतका साथ निर्वाचित हुनुभएको छ।
अनुशासित, बौद्धिक र निष्ठावान् युवा नेताका रूपमा पहिचान बनाएका केसीको यो जितले पार्टीभित्र र समग्र विद्यार्थी राजनीतिमा नयाँ ऊर्जा, उत्साह र आशाको सञ्चार गराएको छ।
राजनीतिक यात्राको सुरुवातमा देउवा समूहमा रहेर संगठन निर्माणमा सक्रिय रहनुभएका केसी विशेष महाधिवेशन/विशेष परिस्थिति पछि भने गगन थापा समूहसँग जोडिएर राजनीतिक रूपमा अझ सशक्त र प्रखर बन्नुभएको हो।
वैचारिक स्पष्टता र गतिशील नेतृत्वकै कारण उहाँले युवा विद्यार्थीहरू माझ आफ्नो विशिष्ट पहिचान बनाउन सफल हुनुभएको छ।
शैक्षिक रूपमा अत्यन्तै उत्कृष्ट पृष्ठभूमि बोकेका केसीले चेल्सी स्कुलबाट एसईई र ग्लोबल कलेज अफ म्यानेजमेन्टबाट +2 गर्नुभएको हो।
गुणस्तरीय शिक्षा र वैचारिक निखारता बोकेका केसीले आफ्नो सक्रिय विद्यार्थी राजनीतिको सुरुवात भने मीनभवनस्थित नेपाल कमर्स क्याम्पस (एनसीसी) बाट गर्नुभएको थियो। एनसीसीको राजनीतिक मैदानमा आम विद्यार्थीहरूका हक-हितका लागि अहोरात्र खटिएर विश्वास जितेका केसीले क्रमिक रूपमा सङ्गठनभित्र आफ्नो पकड र पहिचान मजबुत बनाउँदै लगेका थिए।
आफ्नो अद्भुत सांगठनिक क्षमता, स्पष्ट राजनीतिक दृष्टिकोण र सालीन व्यक्तित्वकै बलमा उहाँ नेविसंघ काठमाडौँ जिल्ला अध्यक्षको महत्त्वपूर्ण जिम्मेवारीमा पुग्नुभएको थियो।
काठमाडौँ नेविसंघको नेतृत्व सम्हाल्दै गर्दा उहाँले रचनात्मक कार्यक्रम, विद्यार्थी कल्याणकारी अभियान र शैक्षिक सुधारका पक्षमा निर्वाह गर्नुभएको भूमिकाको सर्वत्र प्रशंसा हुँदै आएको छ।
जिल्ला अध्यक्षका रूपमा देखाएको अनुकरणीय कार्यसम्पादन र युवा माझको लोकप्रियताकै परिणाम स्वरूप उहाँले खुल्ला युवा तर्फबाट बागमती प्रदेशको केन्द्रीय सदस्य पदमा सफलता प्राप्त गर्नुभएको हो।
बौद्धिक क्षमता, शैक्षिक पृष्ठभूमि र साङ्गठनिक अनुभवको सन्तुलन बोकेका केसीको केन्द्रीय समितिमा प्रवेशसँगै नेपाली कांग्रेसको नीतिगत तहमा युवाहरूको मुद्दा थप सशक्त रूपमा उठ्ने विश्वास लिइएको छ।
आफ्नो शानदार जितपछि संक्षिप्त प्रतिक्रिया दिँदै नवनिर्वाचित केन्द्रीय सदस्य केसीले आफूलाई विश्वास गर्ने सम्पूर्ण नेता, कार्यकर्ता तथा प्रतिनिधिहरूप्रति आभार व्यक्त गर्नुभयो।
उहाँले सम्झौताहीन निष्ठाका साथ देशका शिक्षित र उर्जावान् युवाहरूको मुद्दा, शैक्षिक क्षेत्रको व्यापक रूपान्तरण, रोजगारी सिर्जना र पार्टीभित्र नयाँ पुस्ताको निर्णायक भूमिका स्थापित गर्न आफू सधैँ समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
केसीको यो जितलाई नेपाली राजनीतिमा शिक्षित र क्षमतावान् युवाहरूको उदयको रूपमा सकारात्मक ढङ्गले हेरिएको छ।

सुनौलो अनलाइन
प्रतिक्रिया दिनुहोस