चरिकोटमा भव्य रूपमा मनाइयो ७१औँ प्रहरी दिवस, अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण
चरिकोट, दोलखा
नागरिकको सुरक्षा र शान्ति सुव्यवस्था कायम गर्न अहोरात्र खटिने नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस, २०८३ को अवसरमा दोलखाको सदरमुकाम चरिकोटमा विशेष कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला प्रहरी कार्यालय दोलखाको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोज लामाले गर्नुभएको थियो भने कार्यक्रममा दोलखाका प्रमुख जिल्ला अधिकारी रेखा कडेलको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा शान्ति, सुरक्षा र जनसेवामा समर्पित हुँदै आफ्नो कर्तव्य पालनाको सिलसिलामा वीरगति प्राप्त गर्ने अमर प्रहरीहरूप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो। साथै, अपराध नियन्त्रण, शान्ति सुव्यवस्था कायम र समाजमा शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीले खेल्दै आएको भूमिकाको उच्च प्रशंसा गरिएको थियो।
उक्त दिवसको अवसरमा जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज, उद्योगी व्यवसायी, सञ्चारकर्मी तथा सरोकारवालाहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमका वक्ताहरूले प्रहरी र नागरिकबीचको सहकार्यलाई अझ मजबुत बनाउँदै सुरक्षित समाज निर्माणमा जोड दिएका थिए।

सुनौलो अनलाइन
प्रतिक्रिया दिनुहोस