सन्देश कोइराला बागमती प्रदेश महाधिवेशन प्रतिनिधिमा भिड्दै

सुनौलो अनलाइन
७ असोज २०८३, बुधबार

दोलखा — नेपाली कांग्रेसको राजनीतिमा सानै उमेरदेखि सक्रिय तथा युवा उद्यमी सन्देश कोइरालाले नेपाली कांग्रेसको बागमती प्रदेश महाधिवेशन प्रतिनिधिका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

उनले दोलखा जिल्ला प्रदेश सभा क्षेत्र ‘ख’ बाट प्रदेश महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिन लागेका हुन्।

​दोलखाको शैलुङ गाउँपालिका वडा नं. ८ का २७ वर्षीय कोइराला हाल नेपाल विद्यार्थी संघ (नेविसंघ) दोलखा प्रदेश सभा क्षेत्र ‘ख’ को क्षेत्रीय सभापतिको जिम्मेवारीमा छन्।

​सामान्य किसान परिवारमा हुर्केका कोइरालाले काठमाडौंमा लामो समय कठिन संघर्ष गरेर आफ्नो पहिचान बनाएका हुन्। काठमाडौंको संघर्षमय अनुभवपश्चात् अहिले उनी आफ्नै गृहजिल्ला दोलखामा शैक्षिक परामर्श व्यवसाय सञ्चालन गरी वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूलाई सहजीकरण गर्दै आएका छन्।

​कोइरालाले सानै उमेरदेखि जननायक विश्वेश्वरप्रसाद (विपी) कोइरालाका विचार र पुस्तकहरू अध्ययन गर्दै राजनीतिक चेतना अभिवृद्धि गरेका थिए।

विपीका विचार र सिद्धान्तबाट प्रभावित भएर उनले मात्र १६ वर्षको उमेरमा नेविसंघमार्फत आफ्नो औपचारिक राजनीतिक यात्रा सुरु गरेका हुन्।

​शिक्षा क्षेत्रमा काम गरिरहेका उनी समाजसेवा तथा राजनीतिक विश्लेषणमा समेत उत्तिकै रुचि र पकड राख्छन्। युवाहरूका मुद्दालाई पार्टीको माथिल्लो तहसम्म पुर्‍याउन, संगठनलाई थप सुदृढ बनाउन र दोलखाको समग्र विकासमा युवाको नेतृत्व स्थापित गर्नका लागि आफूले बागमती प्रदेश महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिन लागेको कोइरालाले बताएका छन्।

​स्थानीय युवाहरूका बीच निकै लोकप्रिय रहेका कोइरालाको उम्मेदवारीलाई दोलखा कांग्रेसभित्र निकै चासो र उत्साहका साथ हेरिएको छ।