भुवन केसीद्वारा केन्द्रीय महाधिवेशन प्रतिनिधि (खस आर्य) मा उम्मेदवारी घोषणा
दोलखा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मिति नजिकिँदै जाँदा दोलखामा सांगठनिक सरगर्मी ह्वात्तै बढेको छ।
विभिन्न पदका आकाङ्क्षीहरूले उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहेका बेला कांग्रेसका प्रभावशाली युवा नेता भुवन केसीले खस आर्य तर्फबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
उम्मेदवारी घोषणा गर्दै नेता केसीले पार्टीलाई वैचारिक र सांगठनिक रूपमा सुदृढ बनाउनु आफ्नो मुख्य लक्ष्य रहेको बताए। कांग्रेसकै नेतृत्वमा संविधानसभाबाट संविधान जारी भइसकेकाले अब सोही अनुरूप पार्टीको आन्तरिक संरचनालाई पनि परिमार्जन र जुझारु बनाउनुपर्नेमा उनले जोड दिए।
“राजनीतिक क्रान्ति पूरा भइसकेकाले अबको प्राथमिकता आर्थिक विकास हुनुपर्छ, र त्यसका लागि राजनीतिमा युवाहरूको सशक्त उपस्थिति आवश्यक छ,” केसीले भने।
आफू लामो समयदेखि कुनै लोभ, लालच र प्रलोभनमा नपरी निष्ठापूर्वक लोकतान्त्रिक विचार फैलाउन सक्रिय रहँदै आएको बताउँदै उनले आफूलाई पार्टीको सच्चा सिपाहीका रूपमा प्रस्तुत गरे।
यसअघि क्षेत्रीय सचिव हुँदै संगठन प्रमुखको जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेका केसीले आगामी महाधिवेशनमा खस आर्य तर्फबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा विजयी गराउन पार्टीका वरिष्ठ नेता, क्षेत्रीय प्रतिनिधि तथा सम्पूर्ण कांग्रेसप्रेमीहरूसँग अपिल गरेका छन्।

सुनौलो अनलाइन
प्रतिक्रिया दिनुहोस