नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन निर्देशिका तयार, १८-२८ वर्षका युवालाई प्राथमिकता

सुनौलो अनलाइन
९ असोज २०८३, शुक्रवार

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आफ्नो १५औँ महाधिवेशनका लागि निर्वाचन निर्देशिकालाई अन्तिम रूप दिएको छ।

शुक्रबार सचिवालय समन्वय समितिको बैठकले उक्त निर्देशिकालाई अन्तिम रूप दिएको संयोजक दीपकप्रसाद कुइँकेलले जानकारी दिएका छन्।

परिमार्जित निर्देशिकामा विशेष गरी १८ देखि २८ वर्ष उमेर समूहका युवाहरूलाई महाधिवेशन प्रक्रियामा बढीभन्दा बढी सहभागी गराउने र समेट्ने व्यवस्था गरिएको छ।

इतर पक्षले महाधिवेशनको तयारी स्वरूप ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइसकेको छ भने मधेसका केही जिल्लाबाहेक अधिकांश जिल्लामा संयोजक समेत तोकिसकेको छ।

आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौँमा छुट्टै महाधिवेशन गर्ने घोषणा गरेको इतर पक्षले वडा र क्षेत्रलगायत तल्ला तहका सांगठनिक तयारीलाई तीव्रता दिएको छ।