दोलखा कांग्रेसमा नयाँ पुस्ताको उत्साह: महेन्द्र खड्का निर्विरोध बागमती प्रदेश प्रतिनिधि

सुनौलो अनलाइन
१५ असोज २०८३, बिहिवार

चरीकोट (दोलखा)। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाबाट युवा नेता महेन्द्र खड्का बागमती प्रदेश प्रतिनिधिमा निर्विरोध चयन भएका छन्।

पछिल्लो समय जिल्लाको राजनीतिमा युवाहरूको उपस्थिति र सक्रियता बाक्लिँदै जाँदा खड्काको यो जितलाई पार्टीभित्र नयाँ पुस्ताको प्रभावशाली आगमनका रूपमा हेरिएको छ।

सेमी–क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट तथा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स विद्यार्थी संघ (NCASA) का पूर्व अध्यक्ष खड्काले विद्यार्थी आन्दोलन र पेशागत हकहितका मुद्दाहरूबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन्।

विगतमा प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर चुनावी अनुभव बटुलिसकेका उनी पछिल्लो समय नेपाली कांग्रेसको संगठन निर्माण, वडा तथा पालिका तहमा युवा परिचालन र पार्टी सुदृढीकरण अभियानमा निरन्तर खट्दै आएका छन्।

​प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित भएपछि नेता खड्काले आफूमाथि विश्वास व्यक्त गर्ने सम्पूर्ण पार्टी नेतृत्व, अग्रज नेताहरू तथा सहयोद्धा युवाहरूप्रति कृतज्ञता प्रकट गरे।

​”यो केवल मेरो व्यक्तिगत सफलता मात्र नभई दोलखाका सम्पूर्ण परिवर्तनकाङ्क्षी युवा र कांग्रेसजनको विश्वासको परिणाम हो,” खड्काले भने, “पार्टीले दिएको यो जिम्मेवारीलाई पूर्ण निष्ठाका साथ पालना गर्दै संगठनलाई थप चुस्त र मजबुत बनाउन समर्पित रहनेछु।”
​दोलखा कांग्रेसमा नेतृत्व हस्तान्तरण र नयाँ पुस्ताको सहभागिताबारे व्यापक बहस चलिरहेका बेला खड्काको निर्विरोध चयनले आगामी दिनमा जिल्लाको राजनीतिमा युवा पुस्ताको भूमिका अझ सशक्त हुने स्पष्ट संकेत गरेको छ।