देउवाको कार्यकाल फागुन १९ गते सकिँदै

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अनिश्चित बनेको छ । सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको कार्यकाल फागुन २० गते सकिदैछ ।

आगामी फागुनको दोस्रो साता गर्ने भनिएको महाधिवेशन कोरोना महामारीका कारण हुन नसकेको बताइएको छ । कोरोनाका कारण नहुन सकेपछि गतवर्ष देउवाले पार्टीको विधानअनुसार एक वर्ष कार्यकाल थपेका थिए । जुन फागुन १९ गतेमध्य राति सकिदैछ ।

असोजदेखी कोरोना महामारीमा केही कमि आएपनि कांग्रेसले तयारी शुरुवात गर्नै सकेको थिएन । विधान अनुसारका आयोगमा रहने सदस्यको चयनमा देखिएको विवाद लगायतले क्रियाशिल सदस्य चयन हुन सकेन । पुष ५ गते प्रतिनिधिसभा विघटन भएपछि आएको राजनीतिक अन्यौलताका कारण अब कहिले भन्नेमै अनिश्चित बनेको छ । महाधिवेशन सर्ने यसअघि नै निश्चित भएपनि अब कहिले गर्ने भन्नेमा अन्यौल देखिएको छ ।

विघठित प्रतिनिधिसभा पुनःस्थापना हुने वा निर्वाचनमा मुलुक जाने भन्ने निश्चित हुन सकेको छैन । पुनःस्थापना भए कांग्रेस महाधिवेशन जेठदेखी असार १५ सम्म गर्न सकिने कांग्रेसका नेताहरु बताउछन् । मुलुक निर्वाचनमा होमिएमा भने कहिले गर्ने भन्नेमा अन्यौल रहेको छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

नेपाली कांग्रेसका कार्यसमितिको कार्यकाल अब विधानतह थप गर्न सक्ने अवस्था छैन । नियमित कार्यकाल सकिएपछि एक वर्षमात्रै कार्यकाल थप गर्न सक्ने कांग्रेस विधानमा व्यवस्था छ । २०७२ सालमा भएको १३ औं महाधिवेशनबाट आएको कार्यसमितिको म्याद थप गर्न अब सभापति देउवाले संविधानको सहारा लिनुपर्ने देखिएको छ ।

संविधानतह एउटा कार्यसमितिको कार्यकाल बढिमा साढे पाँच वर्ष हुने उल्लेख छ ।संविधानमा राजनीतिक दलसम्बन्धी व्यवस्थामा ‘कम्तीमा पाँच वर्षमा एक पटक दलका संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनु पर्दछ’ भन्ने उल्लेख गरिएको छ ।

कांग्रेस सभापति देउवाको नियमित चार वर्षे र थप गरेको एक वर्षे कार्यकाल फागुन १९ मा सकिँदैछ । तर विषेश परिस्थिति उत्पन्न भई पाँच वर्षभित्रमा पदाधिकारी निर्वाचन सम्पन्न हुन नसकेमा संविधानले कार्यकाल थप गर्न सक्ने व्यवस्था भने दिएको छ ।

‘पाँच वर्षभित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसकेमा छ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिने गरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधा पर्ने छैन,’ संविधानको धारा २६९ मा राजनीतिक दलसम्बन्धी व्यवस्थामा भनिएको छ । कांग्रेसले संविधानतह म्याद थप गरेपनि विधानले तोकेसरह महाधिवेशन हुन ठाँउ भने देखिदैन ।

कांग्रेसमा क्रियाशिल सदस्यको टुंगो लाग्न सकेको छैन । विधानले महाधिवेशन हुनुभन्दा ६ महिना अगाडी क्रियाशिल सदस्य वितरण र नविकरण गरिसक्नुपर्ने व्यवस्था गरेको छ । महाधिवेशन प्रतिनिधिको टुंगो भने २ महिना अगाडी लगाउनुपर्नेछ । गत फागुन १६ मै क्रियाशिल सदस्य वितरण र नविकरण ६ महिनामा सक्ने निर्णय कांग्रेसले गरेको थियो । तर, आन्तरिक विवादका कारण त्यो सफल हुन सकेन् ।

Back to top button