एमालेले फिर्ता बोलायो सुदुरपश्चिम प्रदेशका तीन मन्त्री

कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारमा सहभागी आफ्ना ३ मन्त्रीलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको छ। प्रदेश कमिटीको तर्फबाट अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले तीनै जना मन्त्रीलाई छुट्टाछुट्टै पत्र लेख्दै सरकारबाट बाहिरिन निर्देशन दिनुभएको हो ।

सरकारमा सहभागी आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट र सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलाई सरकारबाट फिर्ता हुन निर्देशन दिइएको सुदूरपश्चिम एमालेले जनाएको छ।

पार्टीको स्थायी कमिटी बैठकको निर्देशनबमोजिम माओवादी नेतृत्वको सरकारबाट फिर्ता हुन निर्देशन दिइएको हो । एमाले स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

सोहीअनुरूप तीनैजना मन्त्रीलाई बुधबार निर्देशनपत्र थमाइएको छ । तर बुधबार नै बसेको एमाले सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ ।

केन्द्रको स्थायी समितिको निर्णयलाई चुनौती दिँदै प्रदेशको संसदीय दलको बैठकले समर्थन फिर्ता नलिने निर्णय गरेको हो। सुदूरपश्चिम एमाले संसदीय दलमा माधव नेपाल पक्षको बहुमत छ, भने फिर्ता बोलाईका तीनै जना मन्त्री माधव नेपाल पक्षीय हुनुहुन्छ ।

सुदूरपश्चिम प्रदेशसभामा सभामुखसहित एमालेका २५ जना सदस्य छन्। उनीहरुमध्ये वरिष्ठ नेता माधव नेपाल पक्षका १८ र ओली पक्षका ६ जना छन्।

Back to top button