गण्डकीका नवनियुक्त मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मत लिने हुनु भएको छ । सरकारका प्रवक्ता कुमार खड्काका अनुसार उहाँले पर्सि शुक्रबार विश्वासको मत लिने तयारी गर्नुभएको हो ।

शनिबार मुख्यमन्त्री नियुक्त हुनभएका नेपालीले विश्वासको मत लिने प्रस्ताव मंगलबार दर्ता भएको प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिनुभयो ।

विश्वासको मत लिनुभन्दा दुई दिनअघि प्रदेशसभा सचिवालयलाई जानकारी दिनुपर्ने प्रावधान छ । गण्डकीमा ५९ जना प्रदेशसभा सदस्य रहेका छन् । विश्वासको मत प्राप्त गर्न ३० मत आवश्यक पर्छ ।

६० सदस्यीय प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका कृष्ण थापाको पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि प्रदेशसभा सदस्यको संख्या ५९ भएको हो । सरकारमा अहिले कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चा छन् ।

Back to top button