ओली सरकारले नियुक्त गरेका ४ प्रदेश प्रमुख पदमुक्त,३ बाँकी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले निबर्तमान प्रधानमन्त्री शर्मा ओली सरकारको पालामा भएका राजनीतिक नियुक्ति एकपछि अर्को खारेज गर्दै गएको छ । ओलीको पालामा नियुक्त भएका ७ प्रदेश प्रमुख मध्ये ४ जनालाई देउवा सरकारले पदमुक्त गरेको छ ।
बिहीवार बागमती प्रदेश प्रमुख विष्णु प्रसाईंलाई हटाएर यादवचन्द्र शर्मालाई प्रदेश प्रमुख बनाउन सिफारिश गरेको छ । बागमती प्रदेशमा बुधवार मात्र मुख्यमन्त्री परिवर्तन भएको थियो । डोरमणि पौडेलले राजीनामा गरेलगत्तै अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बन्नु भएको थियो ।

यसअघि गत सोमवार मात्र प्रदेश २ का प्रदेश प्रमुख राजेश अहिराजलाई हटाएर हरिशंकर मिश्रलाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिश गरेको थियो । नियुक्त भएर मिश्रले मंगलवार नै शपथ गरीसक्नु भएको छ ।

गण्डकी प्रदेशकी प्रदेश प्रमुख सीता पौडेललाई हटाएर पृथ्वीमान गुरुङ र लुम्बिनीका धर्मनाथ यादवलाई हटाएर अमिक शेरचनलाई प्रदेश प्रमुख बनाएको थियो । लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा कांग्रेस र माओवादी गठबन्धनको सरकार छन् ।
बाँकी प्रदेशहरुमा पनि नयाँ प्रदेश प्रमुख नियुक्तिको तयारी भएको एक मन्त्रीले जानकारी दिए । माधव नेपाल समूह र उपेन्द्र यादवको पार्टीलाई समेत मिलाएर प्रदेश प्रमुख नियुक्त गर्ने गठबन्धनको तयारी छ ।

ओली सरकारले नियुक्त गरेका मध्ये प्रदेश १ मा सोमनाथ प्यासी, कर्णालीमा गोविन्द प्रसाद कलौनी र सुदूरपश्चिममा गंगानारायण यादव प्रदेश प्रमुख छन् । २०७४ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले नियुक्त गरेका प्रदेश प्रमुखलाई ओली प्रधानमन्त्री बनेपछि २०७५ सालमा हटाइएको थियो ।

Back to top button