त्रियुगाका मेयर चौधरी नेकपा एकिकृत समाजवादीमा

विराटनगर ।उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी नेकपा एकीकृत समाजवादीमा जानुभएको छ । मेयर चौधरीले आइतबार जिल्ला निर्वाचन उदयपुरमा दल परिवर्तन गरेको सनाखत गर्नु भएको हो ।

यसअघि नै उहाँ माधव कुमार नेपाल नेतृत्वको नेकपा एसको केन्द्रीय सदस्यमा चयन हुनभएको थियो । आइतबार मेयर चौधरीसहित वडा नम्बर ३ का वडाध्यक्ष अबधेश चौधरी, वडा नम्बर १३ कि वडाध्यक्ष पशुपति चौधरी, वडा नम्बर ६ का वडा सदस्य जयराम पन्जियार, ९ का वडा सदस्य खिल बहादुर कार्की र ११ कि दलित महिला सदस्य सकुन्तला विश्वकर्मा पनि एमाले छाडेर नेकपा एस मा प्रवेश गर्नु भएको छ ।

थारु बाहुल्यता भएको त्रियुगा नगरपालिकामा मेयर चौधरीकै प्रभावका कारण थारु समुदायका जनप्रतिनिधि नेकपा एसतिर लागेका छन् । सोही क्षेत्रबाट प्रदेश १ को समानुपातिक सान्सद रहनुभएकी सुनिता चौधरी यसअघि नै नेकपा एसमा लागेको घोषणा गर्दै दल परिवर्तन गरेको सनाखत गरीसक्नु भएको छ ।
उदयपुरका ८ स्थानीय तह मध्ये ७ वटामा प्रमुखसहित एमालेले जितेको थियो । एमालेबाट जितेका अन्य तहका जनप्रतिनिधिहरु भने एमालेमै रहने संकेत देखिएको छ । यता बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले भने निर्वाचित सबै जनप्रतिनिधि एमालेमै रहेको जानकारी दिनुभएको छ ।

Back to top button