बीपी प्रतिष्ठान तोडफोड,गुण्डागर्दी शैलिमा गरीएको आरोप

धरान । चिकित्सकहरुले काम छाडेर आन्दोलन चर्काएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तोडफोड गरिएको छ। सोमबार संघिय लिम्बुवान मञ्च, एमाले र राप्रपाका कार्यकर्ताहरुले प्रतिष्ठानको उपकुलपति कार्यालयमा तोडफोड गरेका छन्।

८४ औं दिनदेखि प्रतिष्ठान सुधारको माग राखेर यहाँका चिकित्सक र कर्मचारीहरुले आन्दोलनलाई जारी राखेका छन्। आइतबारदेखि चिकित्सकहरुले स्वास्थ्य उपचार बहिष्कार गरेको भन्दै लिम्बुवान, एमाले र राप्रपाका कार्यकर्ताहरुले प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको कार्याकक्षमा लगाएको ताला तोडफोड गरेका छन्। उनीहरुले उपकुपति कार्यालयको मुल ढोका समेत तोडफोड गरेका छन्।

सयौंको संख्यामा गएका दलका कार्यकर्ताहरुले प्रतिष्ठानको डेण्टल गेटको ताला फोडेरभित्र प्रवेश गरेका थिए। प्रहरीले दलका कार्यकर्तालाई रोक्न खोज्दा दुबैतर्फ झडप भएको थियो। झडपमा दुई प्रहरी र प्रदर्शनकारी घाइते भएका छन्। इलाका प्रहरी कार्यालय धरानका डीएसपी नरैनद्र कुवरले प्रतिष्ठानमा नाराबाजी गर्दै आएका विभिन्न दलका कार्यकर्तालाई बल प्रयोग गरी तितरवितर पारेको बताउनुभयो ।

बीपी प्रतिष्ठान शुद्धिकरण अभियानका सहसंयोजक डा.विष्णु पोखरेलले राजनैतिक दलका कार्यकर्ताले गुण्डागर्दी शैलिमा प्रतिष्ठानमा आएर तोडफोड गरेको घटनाको घोर भत्र्सना गर्नुभएको छ ।

Back to top button