शिक्षा क्षेत्रका समस्या समाधान गर्न संघीय शिक्षा ऐन आउनुपर्छ -मन्त्री चौधरी

सुनौलो अनलाइन
३० वैशाख २०८१, शनिबार

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले शिक्षा क्षेत्रका तमाम समस्याको समाधान गर्न संघीय शिक्षा ऐन तत्काल आउन आवश्यक रहेको बताएकी छन। एप्पल इन्टरनेशनल स्कुल तीनकुनेले शनिबार आयोजना गरेको वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले बालबालिका केन्द्रित शिक्षण सिकाई अपनाउन आग्रह गरिन ।
संविधानले शिक्षा क्षेत्र स्थानीयलाई दिएको भन्दै उनले अबको शिक्षण सिकाई बालबालिकामैत्री हुनुपर्ने बताईन ।

संविधानमा शिक्षालाई स्थानीय तहमा दिइएको भन्दै केही कुराहरू स्थानीय तहअनुसार फरक फरक व्यवस्था गर्न पाउने व्यवस्था रहेको उनको भनाई छ । राज्यको संरचना अनुसार तिनै तहमा शिक्षाका केही विषयहरू एक खालको हुनुपर्ने र पाठ्यक्रमहरू पनि जीवन उपयोगी, अहिलेको टेक्नोलोजी अनुसार हुनुपर्नेमा उनको जोड छ ।

विभिन्न पक्षबाट अन्यायमा परेका, हिंसामा परेका, विभिन्न अपराधजन्य कार्यमा संलग्न भएर तथा परिबन्धमा परेका बालबालिकाहरूको न्याय निरूपणका निम्ति छुट्टै बाल अदालतको आवश्यकता रहेको मन्त्री चौधरीले औल्याइन । विद्यालयका प्रिन्सिपल यमनाथ मैनालीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । त्यस अवसरमा शिक्षा क्षेत्रमा योगदान दिने विभिन्न व्यक्ति तथा शिक्षकहरूलाई सम्मानित गरिएको थियो ।