योगाभ्यास सम्बन्धी विश्वभरकै अध्येताहरूका लागि नेपाल मूल गन्तव्य
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले योगाभ्यास सम्बन्धी विश्वभरकै अध्येताहरूका लागि नेपाल मूल गन्तव्य बन्न सक्ने बताएका छन् । प्राकृतिक हिसाबले नेपाल संसारभरका मानिसका लागि योगाभ्यासको सुन्दर भूमि भएको भन्दै प्रचण्डले योगसम्बन्धी ज्ञानविज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताहरूका लागि नेपाल मूल गन्तव्य बन्न सक्ने बताएका हुन् ।
विश्व योग दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले योग शारीरिक अभ्यासमात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवनपद्धति भएको उल्लेख गरे । उनले स्वस्थकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन योगले सहयोग पुर्याउने बताए ।
तनावमुक्त शान्त मन र रोगमुक्त स्वस्थ शरीर विकासमा योगको महत्त्वपूर्ण भूमिका रहने बताउँदै प्रधानमन्त्रीले योग र ध्यानका अभ्यासहरूबाट नसर्ने रोगहरूको रोकथाम, उपचार र पुनःस्थापनाका लागि महत्त्वपूर्ण योगदान पुग्ने विचार व्यक्त गरेका हुन् ।
‘ नेपाल योग पर्यटनका निम्ति अत्यन्त सम्भावनायुक्त देश हो’, प्रधानमन्त्री दाहालले भने, ‘तसर्थ, हामीले योगको विश्वव्यापीकरणमा जोड दिनुपर्दछ । यस दिशामा योजनाबद्ध पहल लिन योगका अभियन्ताहरू र योग गुरूहरूमा म हार्दिक अपिल गर्दछु ।’ योग नेपालको आम जीवनपद्धति एवं अमूल्य निधि भएको बताउँदै प्रधानमन्त्री दाहालले प्रस्तावित योगमाया आयुर्वेद विश्वविद्यालय भविष्यमा विश्वस्तरीय विश्वविद्यालयका रूपमा स्थापित हुने समेत बताए।

सुनौलो अनलाइन
प्रतिक्रिया दिनुहोस