शिक्षण सिकाइमा एआईको प्रयोगबारे भीमेश्वरमा नगरस्तरीय शैक्षिक सम्मेलन सम्पन्न

सुनौलो अनलाइन
७ असार २०८३, आइतबार

दोलखा । शिक्षण सिकाइमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग, यसको सम्भावना र चुनौती विषयक एक दिने भीमेश्वर नगरस्तरीय शैक्षिक सम्मेलन शनिबार चरिकोटमा सम्पन्न भएको छ ।

भीमेश्वर नगरपालिकाको सहयोगमा गौरीशङ्कर बहुमुखी क्याम्पस, चरिकोटले सम्मेलनको आयोजना गरेको हो ।

गौरीशङ्कर बहुमुखी क्याम्पसका प्रमुख शान्त केसीको अध्यक्षतामा सम्पन्न उक्त सम्मेलनमा भीमेश्वर नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयका शिक्षक र क्याम्पसमा प्राध्यापनरत प्राध्यापकहरूको सहभागिता रहेको थियो ।

प्रविधि र सकारात्मक सोचको आवश्यकता: नगर प्रमुख
​सम्मेलनको उद्घाटनसत्रमा बोल्नुहुँदै भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वर नारायण मानन्धरले प्रविधिको सही सदुपयोग हुन नसकेकोमा गुनासो व्यक्त गर्नुभयो ।

समाजमा नकारात्मकता फैलाउन प्रविधिको उच्चतम दुरुपयोग भइरहेको र सरकारले गरेका राम्रा कामलाई पनि नकारात्मक दृष्टिकोणबाट कुप्रचार गर्ने गरिएको उहाँको भनाइ थियो ।

प्रविधिले समाजमा रहेको नकारात्मकता हटाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गर्दै नगर प्रमुख मानन्धरले सकारात्मक सोचको विकासबिना शिक्षाको गुणस्तर सुधार गर्न चुनौती रहेको उल्लेख गर्नुभयो । साथै, उहाँले नगरका सामुदायिक विद्यालयहरूलाई प्रविधिमैत्री बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

मानवीय संवेदना र प्रविधिको सन्तुलन: डिन चालिसे
​कार्यक्रमका विशिष्ट अतिथि त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायका डिन प्रा. डा. महानन्द चालिसेले शिक्षालाई प्रविधि र मानवीय संवेदनासँग जोड्न आवश्यक रहेको बताउनुभयो ।

भौतिक विकाससँगै विश्वभर नकारात्मकता बढ्दै गएको र सामाजिक सञ्जालले मानव समाजलाई ‘हाइज्याक’ गरी मानवीय संवेदनामाथि आक्रमण गरिरहेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

कृत्रिम बौद्धिकता (एआई) र मानवीय संवेदनशीलताबीच सन्तुलन कायम गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो: “समाजलाई सही मार्गमा ल्याउन नसके स्थिति नियन्त्रणबाहिर जान सक्छ । त्यसैले सामाजिक सञ्जालबाट फैलिने नकारात्मक सन्देश नियन्त्रण गर्न बौद्धिक वर्गले सक्रिय भूमिका खेल्नुपर्छ र विद्यार्थीलाई केवल ज्ञानमा मात्र सीमित नराखी सीप र सकारात्मक प्रवृत्तिमा रूपान्तरण गर्नुपर्छ ।”

नेपालका विश्वविद्यालयहरू ‘बेरोजगार उत्पादन गर्ने कारखाना’ भएको भन्ने आम आरोपको खण्डन गर्दै डिन चालिसेले विश्वविद्यालयको अनुसन्धान अनुसार करिब १० प्रतिशत विद्यार्थी मात्र अध्ययनका लागि विदेश जाने गरेको र बाँकी सबै रोजगारीकै सिलसिलामा बाहिरिएको तथ्याङ्क प्रस्तुत गर्नुभयो ।

नेपालमा पर्यटन उद्योगको ठूलो सम्भावना रहेको औँल्याउँदै उहाँले दोलखाको विकासका लागि स्थानीय सम्पत्तिको ‘ब्राण्डिङ’ गर्न आवश्यक रहेको बताउनुभयो ।

क्याम्पस, स्थानीय सरकार र उद्योग व्यवसायीबीच समन्वय गरी विद्यार्थीलाई उत्पादन र श्रमसँग जोड्नुपर्नेमा जोड दिँदै उहाँले गौरीशङ्कर क्याम्पसको स्तर उन्नतिका लागि त्रिभुवन विश्वविद्यालय सधैँ सकारात्मक रहने प्रतिबद्धता जनाउनुभयो ।

एआईको व्यावहारिक अभ्यास र प्राज्ञिक दृष्टिकोण
​क्याम्पस प्रमुख शान्त केसीले शिक्षण सिकाइमा प्रविधिको प्रयोगले पठनपाठनलाई रोचक र परिणाममुखी बनाउन सहयोग पुग्ने बताउनुभयो ।

एआई प्रयोग गर्दा विद्यार्थीको मौलिकता, सोच र सिर्जनशीलतालाई जोगाउनुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो । आफ्नो क्याम्पसको उदाहरण दिँदै प्रमुख केसीले भन्नुभयो : “एआईको प्रभावकारी प्रयोगकै कारण अन्य १० जना जनशक्तिले गर्ने प्रशासनिक काम अहिले क्याम्पसमा उपलब्ध सीमित जनशक्तिबाटै सम्भव भइरहेको छ ।”

विज्ञहरूद्वारा सहजीकरण
​सम्मेलनमा एआईका विषय विज्ञहरू डा. भरत प्रसाद न्यौपाने, डा. निरोज दाहाल र ईश्वर चौलागाईंले शिक्षण सिकाइमा एआईको प्रभावकारी र व्यावहारिक प्रयोग गर्ने तरिका, यसका फाइदा तथा चुनौतीहरूको विषयमा सैद्धान्तिक प्रशिक्षणसहित प्रयोगात्मक कक्षाहरूको सहजीकरण गर्नुभएको थियो ।