गाउँको सेवा दिन राजधानीमा जनप्रतिनिधि र कर्मचारी

सुनौलो अनलाइन
१३ भदौ २०८२, शुक्रवार
काठमाडौ । गाउँबाट शहरकेन्द्रीत भएका वडावासीहरू सेवा प्रदान गर्न जनप्रतिनिधि र कर्मचारी राजधानी काठमाडौ पुगेका छ्न।
गाउँमा नै पुगेर सेवा लिन समस्यामा भएका वडाका नागरिकलाई  सेवा प्रदान गर्नका लागि उपाध्यक्ष, वडाअध्यक्षसहितका जनप्रतिनिधि वडाको सेवा बोकेर राजधानीमा पुगेका हुन ।
वर्षाको समय र वृद्धाहरूलाई गाउँसम्म पुगेर सामाजिक सुरक्षा भत्ता कार्ड नवीकरण लगायत अन्य काममा गर्न असहज हुने भएकाले काठमाडौ बाट सेवा प्रदान गरिएको दोलखाको तामाकोसी गाउँपालिकाकि उपाध्यक्ष सिर्जना सुबेदीले बताउनुभयो। उहाँले भन्नुभयो, गाउँपालिकाका ३ वटा वडाले काठमाडौबाट सेवा प्रदान गर्ने काम सम्पन्न भएको छ बाकी वडाको भईरहेको छ । काठमाडौबाट ३ दिन  सेवा प्रदान गरिने उहाँले बताउनुभयो ।
सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाता प्रमाणित, सिफारिसलगायत सेवा उपलब्ध गराउन घुम्ती शिविर लिएर जनप्रतिनिधि र कर्मचारी राजधानी काठमाडौ  पुगेका हुन।
छोराछोरीहरू रोजगारीका लागि राजधानी केन्द्रित भएपछि आमाबुबा पनि उहाँहरु सँगै  राजधानीमा नै बसोबास गर्नुहुन्छ। अधिकांश वृद्धवृद्धाहरु राजधानीमा नै बसोबास गर्ने भएकाले वडाको सेवा राजधानीबाट नै प्रवाह गरिएको तामाकोसी गाउँपालिका ४ मालुका वडा अध्यक्ष नारायण खड्काले बताउनुभयो ।
सामाजिक सुरक्षा भत्ता नवीकरण तथा वडा कार्यालयका सबै सेवा प्रवाह एकै स्थानबाट प्रदानका लागि तिन दिनसम्म शिविर कार्यक्रम सञ्चालन गरिएको वडा अध्यक्ष खड्काले बताउनुभयो ।
हरेक वर्ष भत्ताका लागि ‘बायोमेट्रिक’ सहित लाभग्राही सूची नवीकरण गर्नुपर्ने बाध्यकारी व्यवस्था  रहेकाले  गाउँपालिकामा नाम भए पनि बजारमा बसोबास गर्ने ज्येष्ठ नागरिक, अशक्त, बिरामी लाभग्राहीहरूलाई बर्खामा गाउँसम्म पुग्न कष्ट, झन्झट र दुःख हुने भएकाले जनप्रतिनिधि र कर्मचारी नै सहर झरेर नवीकरण गर्ने व्यवस्था मिलाएको तामाकोसी गाउँपालिकाले जनाएको छ।
सेवाग्राहीको सहजताका लागि जनप्रतिनिधि र वडा सचिवहरु सहरमा पुगेर सेवा दिन थालेका छन।सेवा प्रदान गर्नका उपाध्यक्ष सिर्जना सुबेदि वडा अध्यक्षहरु वसन्त थापा, इश्वरराज कार्की,रामप्रशाद काफ्ले र नारायण खड्का वडा सचिवहरू लगायतका कर्मचारी बोकेर काठमाडौ पुग्नुभएको छ।
वर्षाको समयमा गाउँमा जान समस्या हुने भएपछि आफूहरू वडाको सबै सेवा यहीबाट प्रदान गर्नका लागि काठमाडौँ आएको वडा अध्यक्ष रामप्रसाद काफ्लेले बताउनुभयो ।
गाउँको सेवा राजधानीमै पाएपछी खुसी भएको सेवाग्राही पुष्कर खड्काले बताउनुभयो ।