टिओबी प्रकरण: ‘जेनजी अभियन्ता’ गुरुङमाथि सुरक्षा अंगको निगरानी !

सुनौलो अनलाइन
२८ असोज २०८२, मंगलबार

काठमाडौ । जेनजी आन्दोलनका क्रममा फ्री तिब्बत अभियानका सहभागीहरू देखिएपछि उनीहरूको निगरानी बढेको छ। आन्दोलनमा टिओबी अर्थात् तिब्बतियन मूलको रगत (तिब्बत ओरजिन ब्लड) का सदस्यहरू देखिएपछि सरकारले निगरानी बढाएको हो।

त्यसमा जेनजी अभियन्ता सुदन गुरुङ पनि जोडिएको आशंकामा सुरक्षा निकायले उनीमाथि पनि निगरानी बढाएका छन्। गृह मन्त्रालयले यो विषय निकै गम्भीर भएकाले जोकोही भए पनि निगरानीमा रहने जनाएको छ। जेनजी अभियन्ता गुरुङमाथि पनि फ्री तिब्बत अभियन्ताको आरोप लगाएपछि उनले सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गर्दै त्यसको खण्डन गरेका छन्। यद्यपि उनका विभिन्न गतिविधिलाई लिएर सुरक्षा अंगले निगरानी बढाएको हो।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा घुसपैठ भएको र टिओबी लेखिएको ज्याकेट लगाएका व्यक्तिहरूले हुलदंगा गरेको भन्दै सामाजिक सञ्जालमा भिडियो फुटेज आएपछि गृह मन्त्रालय र मातहतका सुरक्षा अंगहरू सशंकित भएका थिए। ‘जेनजी आन्दोलनमा स्वयंसेवकका रूपमा मात्र खटिएर हाल नेतृत्वकै दाबी गरिरहेका हामी नेपाल अभियानका अध्यक्ष गुरुङका गतिविधि शंकास्पद देखिएपछि निगरानी बढाइएको हो,’ स्रोतले भन्यो।

उनको विषयमा विविध प्रश्न उठेको बेला गृह मन्त्रालय पुगेका गुरुङले आफू फ्री तिब्बतको अभियानमा नरहेको भन्दै गृहमन्त्रीलाई जानकारी गराएका थिए।


धेरै पढिएको