कांग्रेसमा अब कुन महाधिवेशन : नियमित कि विशेष ?

सुनौलो अनलाइन
३० असोज २०८२, बिहिवार

नेपाली कांग्रेसका दुई हजार चार सय ८५ महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको प्रस्ताव दर्ता भएको छ ।

कांग्रेसको दर्ता पुस्तिकामा १०१ नम्बरमा परेको प्रस्तावमा नेतृत्व परिवर्तन गर्न तत्काल विशेष महाधिवेशन माग गरिएको छ । तर, प्रस्तावमा नियमित अवधिभित्रै नियमित महाधिवेशन गर्ने बाटो भने खुला राखिएको छ ।

प्रस्तावमा विधानतः २०८२ मंसिर २१ गतेभित्र नियमित महाधिवेशन सम्पन्न गर्नुपर्ने र विगतमा छोटो समयमा महाधिवेशन सम्पन्न गरेको हाम्रो इतिहासले यो सम्भव छ भन्ने पुष्टिसमेत गरेको उल्लेख छ ।

प्रस्तावमा भनिएको छ, “फागुन २१ को निर्वाचन र १५औं महाधिवेशनको तयारीका लागि पार्टीले आफूलाई पुनर्गठन गर्न अत्यावश्यक भएकोले सामान्य अवस्थामा विधानले कार्यकाल थप्ने सुविधा दिए पनि, यो असाधारण संकटमा त्यस्तो सुविधा प्रयोग गर्नु उचित हुँदैन ।”

विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गरिए पनि प्रस्ताव दर्ता हुँदा भने समयमै नियमित महाधिवेशन पनि भनिएको छ ।  तर, नियमित महाधिवेशन भनेर कार्यसमितिको म्याद थप्ने विषय भने स्वीकार्य नहुने प्रस्तावकर्ताहरूको माग छ ।

“पार्टीको नीति, नेतृत्व र संरचनाबारे गहन छलफल र आत्मसमीक्षाका लागि केन्द्रीय कार्यसमितिको सीमित निर्णय अपर्याप्त छ । विधानको धारा १७(१) अनुसार मंसिर २१, २०८२ भित्र नियमित महाधिवेशन सम्पन्न गर्नुपर्छ । विगतमा छोटो समयमा महाधिवेशन सम्पन्न गरेको हाम्रो इतिहासले यो सम्भव छ भन्ने पुष्टि गर्छ,” प्रस्तावमा भनिएको छ, “यदि यो सम्भव नभए, धारा १७(२) बमोजिम विशेष महाधिवेशन आह्वान गरी विषम परिस्थितिलाई सम्बोधन गर्न अनिवार्यता रहेको व्यहोरा अनुरोध गर्न चाहन्छौं ।”

प्रस्तावकर्ताहरूमा पनि विशेष महाधिवेशनको विकल्पमा जानु हुने र नहुनेमा विभाजित छन् । कांग्रेस नेता डा. शेखर कोइराला निकट नेता गुरुराज घिमिरे विशेष महाधिवेशनका लागि प्रस्ताव दर्ता भएपछि विधानतः बाध्यात्मक भए पनि विधान अनुसारको समयावधिभित्र नियमित महाधिवेशनको बाटो नछेकिने बताउँछन् ।

उनी विशेष महाधिवेशनको वैधानिक अवधि पुस २९ सम्म हुने भन्दै त्यसभन्दा अघि नै नियमित महाधिवेशन भए त्यसले अझ फराकिलो निकास दिने बताउँछन् ।