नियमित महाधिवेशनको कार्यतालिका पास हुन्छ : गगन थापा

सुनौलो अनलाइन
३० असोज २०८२, बिहिवार

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान कार्यसमितिले नियमित महाधिवेशनको कार्यतालिका पास गर्ने भन्दै विशेष महाधिवेशनको कुरा त्यसले नै टुंगो लगाउने बताएका छन् । आजको केन्द्रीय समिति बैठकमा एजेन्डा प्रस्तुत गर्दै महामन्त्री थापाले विशेष महाधिवेशनका मागकर्ताहरूले नै समयमा महाधिवेशन हुने अवस्थामा नियमित महाधिवेशन नै भनेको बताए ।

उनले नियमित महाधिवेशनको कार्यतालिका नियमित अवधिभित्रै गर्नेगरी नआए विशेष महाधिवेशन बाध्यता हुने बताए ।

´विशेष महाधिवेशनको लागि विधानमा व्यवस्था भएबमोजिम पार्टीमा महाधिवेशनको माग राख्दै हस्ताक्षर बुझाउनुभएको छ । यो दर्ता भएको पत्रमा विधान बमोजिम आवश्यक अध्यन गरेर प्रक्रिया अगाडि बढाइने छ,`मन्त्री थापाको भनाइ उदृत गर्दै एक केन्द्रीय सदस्यले भने, ´तर, मलाई विश्वास छ, विशेष अधिवेशनका मागकर्ता साथीहरूले मङ्सिर मसान्तभित्रमा नियमित अधिवेशन हुनुपर्छ भन्ने विषय मुख्य हो भन्नुभएकोले यो बैठक टुंगिने बेलासम्म हामी नियमित महाधिवेशन समयमै गर्ने समझदारीमा पुग्नेछौँ ।’