नयाँ वर्षको अवसरमा आवाज नेपाललाई लत्ताकपडा र नगद सहयोग
काठमाडौं । नयाँ वर्ष २०८३ को शुभ अवसर पारेर सामाजिक संस्था आवाज नेपाललाई विभिन्न क्षेत्रका व्यक्तित्वहरूबाट आर्थिक तथा भौतिक सहयोग प्रदान गरिएको छ।
मंगलबार एक कार्यक्रमका बीच जुरिच स्कुलका अभिभावक, संस्थापक प्रिन्सिपल र समाजसेवीहरूको उपस्थितिमा उक्त सहयोग हस्तान्तरण गरिएको हो।
नयाँ वर्षलाई सेवामूलक कार्यबाट सुरुवात गर्ने उद्देश्यले जुरिच स्कुलका अभिभावकहरूको सक्रिय सहयोगमा विभिन्न थान लत्ताकपडाहरू संस्थालाई उपलब्ध गराइएको छ।
त्यसैगरी, शिक्षा र समाजसेवामा क्रियाशील व्यक्तित्वहरूबाट आर्थिक सहयोग समेत प्राप्त भएको छ। जुरिच स्कुलकी संस्थापक प्रिन्सिपल बिजिता केसीले ५ हजार रुपैयाँ र गौरीशंकर क्याम्पस पूर्व शिक्षक तथा विद्यार्थी समाजका अध्यक्ष एवं समाजसेवी राम बहादुर श्रेष्ठले नगद ५ हजार रुपैयाँ गरी जम्मा १० हजार रुपैयाँ नगद सहयोग प्रदान गरिएको हो।
सहयोग ग्रहण गर्दै आवाज नेपालकी अध्यक्ष सृजना कार्किले नयाँ वर्षको पहिलो दिनमै शैक्षिक र सामाजिक क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूबाट प्राप्त यस सहयोगले संस्थालाई थप हौसला मिलेको बताउनुभयो।
प्राप्त नगद तथा लत्ताकपडा संस्थामा आश्रित व्यक्तिहरूको हितका लागि प्रयोग गरिने जानकारी समेत दिइएको छ।

सुनौलो अनलाइन
प्रतिक्रिया दिनुहोस