वन्यजन्तु सालकको खपडा लुकाउने ६६ वर्षीय तामाङ चरिकोटमा पक्राउ

सुनौलो अनलाइन
१९ जेठ २०८३, मंगलबार

दोलखा, १९ जेठ ।
दोलखा प्रहरीले प्रतिबन्धित वन्यजन्तु सालकको खपडासहित एक जनालाई नियन्त्रणमा लिएको छ।

जिल्लाको शैलुङ गाउँपालिका वडा नं. २ पोर्सब बस्ने ६६ वर्षीय मनोज कुमार तामाङलाई प्रहरीले आफ्नै घरबाट पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मंगलबार बिहान करिब ८:३० बजे तामाङको घर कोठा खानतलासी गरेको थियो। खानतलासीका क्रममा घरको भित्तामा फलामको किल्लाले झुण्ड्याएर लुकाई-छिपाई राखेको अवस्थामा सालकको खपडा जस्तो देखिने वस्तु फेला परेको प्रहरीले जनाएको छ।

​प्रहरीले उक्त सालकको खपडा जस्तो देखिने वस्तु बरामद गरी घरधनी तामाङलाई नियन्त्रणमा लिएको हो।

बरामद गरिएको आखेटोपहार र पक्राउ परेका तामाङलाई आवश्यक कानुनी कारबाही तथा थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय दोलखामा पठाइएको छ।

नेपालको कानुन अनुसार सालक संकटापन्न वन्यजन्तु भएकाले यसको अंग वा खपडा राख्नु अवैध मानिन्छ।