सिमीगाउँ आमा समूहलाई वडा कार्यालयद्वारा भौतिक सामग्री हस्तान्तरण

सुनौलो अनलाइन
२२ जेठ २०८३, शुक्रवार

दोलखा । गौरीशङ्कर गाउँपालिका वडा नं. ९ वडा कार्यालयले स्थानीय सिमीगाउँ आमा समूहलाई भौतिक सामग्री हस्तान्तरण गरेको छ।

वडा कार्यालयको आर्थिक वर्ष २०८२/८३ को स्वीकृत लक्षित वर्ग (महिला) शीर्षकको बजेटबाट आमा समूहलाई आवश्यक प्लास्टिकका कुर्सी तथा टेबलहरू औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।
​महिला दिदीबहिनीहरूको मासिक बैठक, सामाजिक छलफल तथा संस्थागत कार्यसम्पादनलाई थप व्यवस्थित, सहज र प्रभावकारी बनाउने उद्देश्यले वडा कार्यालयले यो सहयोग हात अगाडि बढाएको वडा कार्यालयले जनाएको छ।

सामग्री हस्तान्तरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, आमा समूहका पदाधिकारी तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो।
​सामग्री बुझ्दै सिमीगाउँ आमा समूहका प्रतिनिधिहरूले वडा कार्यालयको यो सहयोगप्रति खुसी व्यक्त गरे। बैठक बस्न र संस्थागत काम गर्न कुर्सी-टेबलको अभाव झेलिरहेको अवस्थामा वडा कार्यालयले गरेको यो सहयोगले आगामी दिनमा सामाजिक कार्यहरू सञ्चालन गर्न ठूलो राहत मिल्ने उनीहरूले बताए।

वडा कार्यालयका अनुसार स्थानीय तहमा महिलाहरूको संगठित आवाजलाई मजबुत बनाउन र उनीहरूको संस्थागत क्षमता विकासका लागि यो सानो तर महत्त्वपूर्ण प्रयास हो।

आगामी दिनहरूमा पनि लक्षित वर्गको हित, क्षमता विकास र महिला सशक्तिकरणका लागि वडा कार्यालय सदैव साथमा रहने र थप रचनात्मक कार्यक्रमहरू ल्याउने प्रतिबद्धता समेत वडा कार्यालयले व्यक्त गरेको छ।