दोलखामा दाजुद्वारा भाइमाथि खुकुरी प्रहार, घाइतेलाई उपचारका लागि धुलिखेल रेफर
दोलखा, २२ जेठ । दोलखाको भीमेश्वर नगरपालिकामा खेतबारीको काम गर्ने विषयमा विवाद हुँदा दाजुले भाइमाथि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन्।
भीमेश्वर नगरपालिका वडा नं. २ डोकथली बस्ने अन्दाजी ४० वर्षीय ‘सहरे’ भन्ने लोक बहादुर थामीले आफ्नै ३५ वर्षीय भाइ भीम बहादुर थामीमाथि खुकुरी प्रहार गरेका हुन्।
खुकुरी प्रहारबाट भीम बहादुरको टाउकोमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार हिजो जेठ २१ गते बेलुकी अन्दाजी सवा ५ बजेको समयमा खेतबारीको काम गर्ने विषयलाई लिएर दुई दाजुभाइबीच विवाद भएको थियो। सोही विवाद बढ्दै जाँदा लोक बहादुरले भाइ भीम बहादुरमाथि धारिलो खुकुरी प्रहार गरेका थिए।
घटना लगत्तै घाइते भीम बहादुरलाई उपचारका लागि धुलिखेल शाखा अस्पताल भीमेश्वर, दोलखा पुर्याइएको थियो, जहाँ उनको प्रारम्भिक उपचार गरियो। खुकुरी प्रहारबाट उनको टाउकोमा गहिरो चोट लागेकाले २७ वटा टाँका लगाइएको छ भने दाहिने पाखुरामा निलडाम रहेको छ। हाल घाइतेको अवस्था मध्यम रहेको र उनी बोल्न सक्ने स्थितिमा रहेका छन्।
आरोपी खुकुरीसहित पक्राउ
घटनाबारे हिजो साँझ करिब साढे ६ बजे जानकारी प्राप्त हुनासाथ भीमेश्वर प्रहरीको टोली तत्काल घटनास्थलमा खटिएको थियो। खुकुरी प्रहार गरे लगत्तै फरार भएका आरोपी लोक बहादुर थामीलाई प्रहरीले घटनामा प्रयोग भएको खुकुरीसहित नियन्त्रणमा लिएको छ।
यसैबीच, दोलखामा प्राथमिक उपचार पश्चात् घाइते भीम बहादुरलाई थप उपचारका लागि हिजै राती करिब ८ बजे धुलिखेल अस्पताल, काभ्रे रेफर गरिएको छ।
अस्पतालमा घाइतेकी श्रीमती उपचारमा संलग्न रहेकी छिन्। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

सुनौलो अनलाइन
प्रतिक्रिया दिनुहोस