काँग्रेसभित्र ‘भस्मासुर नेतृत्त्व’ हावी भयो, तत्काल महाधिवेशन सुनिश्चित गरौँ: कुन्दन काफ्ले
काठमाडौँ । नेपाली कांग्रेसका नेता कुन्दन काफ्लेले वर्तमान पार्टी नेतृत्वमाथि गम्भीर आरोप लगाउँदै ‘भस्मासुर नेतृत्त्व’बाट पार्टीलाई मुक्त गराउन आह्वान गर्नुभएको छ ।
नौटङ्की र भ्रम सिर्जना गरेर विशेष अधिवेशनका नाममा जन्मिएको वर्तमान नेतृत्वले वास्तविक कांग्रेसलाई नै भस्म बनाउन लागेको आरोप उहाँले लगाउनुभएको हो ।
पार्टीभित्र पछिल्लो समय देखिएको क्रियाशील सदस्यता विवाद र महाधिवेशन टार्ने प्रपञ्चप्रति लक्षित गर्दै नेता काफ्लेले देशैभरका निष्ठावान कार्यकर्ताहरूलाई पार्टी बचाउने गुरुत्तर दायित्व पूरा गर्न एकजुट हुन आग्रह गर्नुभयो ।
सदस्यता अद्यावधिकका नाममा आतंक र विभेदकारी ‘राणा शासन’
नेता काफ्लेले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधि गर्ने बहानामा पहिले नै नवीकरण गरिसकेका साथीहरू माझ भ्रम, डर र धम्कीको वातावरण सिर्जना गरी पार्टीबाटै लखेट्ने प्रपञ्च रचिएको दाबी गर्नुभयो ।
”अद्यावधि त पार्टी कार्यालयले आफ्ना सदस्यहरूको रेकर्ड व्यवस्थित गर्ने सामान्य प्रक्रिया मात्र हो,” काफ्लेले भन्नुभयो,महाधिवेशनमा जुट्नका लागि देशैभर सदस्यता नवीकरण अभियान सम्पन्न भइसकेको छ ।
यदि त्यसमा कोही छुटेको भए नवीकरण गरे पुग्ने सामान्य विषयलाई जटिल र नियोजित षडयन्त्रको अखडा बनाउन खोजिएको छ ।
नेतृत्वको यो कदम नियमित पन्ध्रौँ महाधिवेशन रोक्नका लागि गरिएको एउटा ठूलो ‘फण्डा’ मात्र भएको उहाँको जिकिर छ । तल्ला तहका कार्यकर्तालाई मात्र अद्यावधिकको सास्ती दिएको भन्दै उहाँले थप्नुभयो, “नेता वर्गलाई अद्यावधि गर्नु पर्दैन, तल्ला तहका कार्यकर्ताले भने अनिवार्य गर्नुपर्छ भन्ने यो घोर विभेदकारी राणा शासनको खप्पर लगाएको नेतृत्त्व किमर्थ स्वीकार्य छैन ।”
आन्तरिक लोकतन्त्रको घाँटी निमोठियो, नेतृत्व अर्काको टाउकोमा दोष थोपर्दैछ
कथित विशेष महाधिवेशनको ‘टीके नेतृत्व’ले नियमित महाधिवेशन बिथोलेर आम कार्यकर्ताको तेजोबध गर्न लागिपरेको आरोप लगाउँदै काफ्लेले वर्तमान नेतृत्वले आन्तरिक लोकतन्त्रको गला निमोठेर प्रतिस्पर्धाको संस्कृतिलाई पूर्णतः निषेध गरेको बताउनुभयो ।
नेतृत्वको बोली र व्यवहार निम्न स्तरको भएको टिप्पणी गर्दै उहाँले भन्नुभयो, “कहिले शेरबहादुर देउवाको मुख देखाउँदा भोट घट्छ भन्ने, कहिले उहाँले प्रचार नगरेर चुनाव हार्यो भन्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिएर यो नेतृत्व अर्काको टाउकोमा दोष थोपरेर उम्कन खोज्दैछ ।
फजुल गफ र फन्डाबाजीमा मात्र विश्वास गर्ने यो कथित नेतृत्त्वले कांग्रेसलाई दिनप्रतिदिन कमजोर बनाइरहेको छ ।”
”काँग्रेस सक्न काँग्रेस नै प्रयोग भइरहेको छ”
वर्तमान नेतृत्व कांग्रेसलाई बचाउन नभई यसलाई आफ्नो हातमा लिएर समाप्त पार्ने योजनाबाट परिचालित भएको आशंका नेता काफ्लेले व्यक्त गर्नुभयो ।
“कांग्रेस सक्न कांग्रेस नै प्रयोग भइरहेको झल्को दिलाउने वर्तमान नेतृत्त्व हटाउन सुनिश्चित हुनुपर्ने महाधिवेशन कतिञ्जेल रोक्ने ?” उहाँले प्रश्न गर्नुभयो ।
काफ्लेले अब एक क्षण पनि विश्राम नलिई बलियो, निष्ठावान र सिद्धान्तनिष्ठ कांग्रेस पुनर्निर्माणमा जुट्न आम कार्यकर्तालाई अपिल गर्नुभएको छ ।
”देशैभरका निष्ठावान साथीहरू! नेपाली कांग्रेस बचाउने आफ्नो गुरुत्तर दायित्व सम्झेर मातृभूमिको एकमुठी माटो लिएर छातीमा हात राखेर भनौँ— नेपाली कांग्रेस जिन्दावाद,” भावुक बन्दै उहाँले भन्नुभयो, “जति दिन ढिला भयो, त्यति नै क्षति हुनेछ ।
महाधिवेशन टार्ने तत्त्वका खिलाफमा गोलबद्ध बनौँ र तत्काल महाधिवेशन सुनिश्चित गरेर पार्टीप्रति इमान्दार नेतृत्त्व निर्माणमा लागौँ ।”

सुनौलो अनलाइन
प्रतिक्रिया दिनुहोस