सुधन र गगनको एउटै चरित्र: एउटाले सम्पत्तिको स्रोत लुकाए, अर्कोले चुनावी असफलताको जिम्मेवारी

सुनौलो अनलाइन
२७ जेठ २०८३, बुधबार

काठमाडौँ । नेपाली राजनीतिमा जवाफदेहिता र नैतिकता कतिसम्म स्खलित भएको छ भन्ने कुराको पछिल्लो उदाहरण पूर्वगृहमन्त्री सुधन गुरुङ (किराती) माथिको सम्पत्ति छानबिन र कांग्रेस सभापति गगन थापाको हालैको राजनीतिक लाचारीपनले प्रष्ट पारेको छ।

गोरखा पुगेर कांग्रेस सभापति थापाले सरकारले सुधन गुरुङलाई चोख्याउन खोजेको भन्दै ‘कालेकाले मिलेर खाऊँ भाले’ को उखान हालेर निकै ठुलो गर्जन त गरे, तर राजनीतिक विश्लेषकहरूले भने सुधन गुरुङ र गगन थापाको चरित्रमा कुनै भिन्नता नरहेको टिप्पणी गर्न थालेका छन्।

एकातिर सत्ताको आडमा सुधनले आफ्नो अस्वाभाविक सम्पत्तिको स्रोत लुकाएर चोखिने दाउ हेरिरहेका छन् भने अर्कातिर कांग्रेस सभापति थापाले भर्खरै सम्पन्न निर्वाचनमा पार्टीले ब्यहोरेको लज्जास्पद पराजयको नैतिक जिम्मेवारी समेत नलिई आफूलाई चोख्याउने कसरत गरिरहेका छन्।

सुधनको सम्पत्ति र गगनको चुनावी हार: पानीमाथिको ओभानो बन्ने होडबाजी

​राजनीतिक वृत्तमा यतिबेला यी दुवै नेताहरूको प्रवृत्तिको समानान्तर विश्लेषण हुन थालेको छ। पूर्वगृहमन्त्री सुधन गुरुङले गृह प्रशासन चलाउँदा र त्यसअघि आर्जन गरेको सम्पत्तिको वैध स्रोत जनताले माग्दा देखाउन नसक्ने तर सरकारी छानबिन समितिको झन्झटिलो नाटक रचेर चोखिन खोज्ने प्रवृत्ति उदाङ्गो भइसकेको छ।

ठीक यही शैली पछ्याउँदै कांग्रेस सभापति गगन थापाले पनि भर्खरैको चुनावमा पार्टी क्लिनस्वीप हुने अवस्थामा पुग्दा, टिकट वितरण र रणनीतिक विफलताको प्रमुख कमाण्डर आफैँ भएर पनि त्यसको दोष तल्ला कमिटी वा अरूको टाउकोमा थुपारेर आफू पानीमाथिको ओभानो बन्न खोजेका छन्। नागरिक र पार्टी कार्यकर्ताहरूले यतिबेला दुवै नेतालाई आ-आफ्नो ठाउँबाट जवाफदेहिताबाट भागेको गम्भीर आरोप लगाएका छन्।

​’आफ्नो आखाँको धमिलो नदेख्ने, अरूको आँखाको कसिङ्गर खोज्ने’ प्रवृत्तिको पटाक्षेप

​कांग्रेस निकट विश्लेषकहरूका अनुसार गगन थापाले सुधन गुरुङ र वर्तमान सरकारमाथि गरेको कडा प्रहार वास्तवमा आफ्नो असफलता लुकाउने एउटा राजनीतिक ‘शिल्ड’ मात्रै हो। चुनाव हारेपछि पार्टीभित्र सभापतिको राजीनामा माग गर्दै तीव्र असन्तोष चुलिएका बेला थापाले गोरखा पुगेर सरकार विरोधी आक्रामक कार्ड फालेका हुन्।

सुधन गुरुङले ‘झाँक्री र बोक्सी आफैँ बनेर’ सम्पत्ति चोख्याएको आरोप लगाउने थापा आफैँ पनि चुनावी समीक्षा बैठकमा हारको जिम्मेवारी लिनुको साटो आफैँ न्यायाधीश बनेर अरूलाई दोषी करार गरिरहेका छन्।

सत्तापक्षले भ्रष्टाचार लुकाउन सेटिङ गरे जस्तै गगन थापाले पनि पार्टीभित्र आफ्नो पद र प्रतिष्ठा जोगाउन आन्तरिक राजनीतिक सेटिङ गरिरहेको विश्लेषकहरूको ठहर छ।

राजनीतिमा चरम नैतिक सङ्कट र नेतृत्वको लाचारी

​दुवै घटनाक्रमलाई नजिकबाट नियालिरहेका विश्लेषकहरूका अनुसार सुधनले सम्पत्तिको वैधता लुकाउनु र गगनले चुनावी पराजयको जिम्मेवारी नलिनु नेपाली राजनीतिमा मौलाएको दण्डहीनताको दुई रूप हुन्।

एउटा तन्नेरी उमेरको मन्त्री बन्ने बित्तिकै वैध स्रोत विना करोडौँको मालिक बन्ने र अर्को युवा पुस्ताको पार्टी नेताले नीति र नेतृत्व असफल हुँदा पनि कुर्चीमै टाँसिएर बस्ने प्रवृत्तिले नयाँ पुस्ताको राजनीतिमाथि नै गम्भीर आशङ्का नजन्माएको होइन।

सरकारले सुधनलाई उन्मुक्ति दिने निश्चितप्रायः देखिँदा, कांग्रेसभित्र गगन थापाले पनि चुनावी हारको दाग धुँदै आफूलाई ‘चोखो र सर्वशक्तिमान्’ सावित गर्ने प्रहसन रचिरहेका छन्, जसले राजनीतिमा जवाफदेहिताको अन्त्य भएको सन्देश आम जनतामाझ पुर्‍याएको छ।


धेरै पढिएको