हिमाली जिल्लाको प्रतिष्ठित गौरीशंकर बहुमुखी क्याम्पसद्वारा विपद् कोषमा ७५ हजारभन्दा बढी सहयोग
दोलखा। हिमाली जिल्ला दोलखाको अग्रणी तथा ठूलो शैक्षिक संस्था गौरीशंकर बहुमुखी क्याम्पस परिवारले देशमा परेको प्राकृतिक विपद्मा परेका नागरिकहरूको राहत तथा उद्धारका लागि आर्थिक सहयोग जुटाएको छ।
क्याम्पसमा कार्यरत प्राध्यापक, कर्मचारी तथा विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरूको सामूहिक ऐक्यबद्धता र स्वेच्छिक योगदानबाट कुल ७५ हजार २ सय ७७ रुपैयाँ ७३ पैसा सङ्कलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको क्याम्पसका निमित्त क्याम्पस प्रमुख बालकृष्ण फुयालले जानकारी दिए।
विपद्को यस घडीमा सामाजिक उत्तरदायित्व वहन गर्दै सबैभन्दा बढी सहयोग क्याम्पसका प्राध्यापक तथा कर्मचारी वर्गबाट ५८ हजार ३ सय १२ रुपैयाँ ७३ पैसा सङ्कलन भएको छ। यसैगरी एमबीएस (MBS) तेस्रो सेमेस्टरका विद्यार्थीहरूबाट ८ हजार ४ सय रुपैयाँ र कक्षा ११, १२ का साथै स्नातक (Bachelor) तहका विद्यार्थीहरूबाट ८ हजार ५ सय ६५ रुपैयाँ योगदान भएको निमित्त क्याम्पस प्रमुख फुयालले बताए।
प्राकृतिक विपत्तिले जनजीवन प्रभावित बनिरहेका बेला चरीकोट स्थित यस ऐतिहासिक क्याम्पसले देखाएको यो अग्रसरताले राहत र पुनर्स्थापनाको कार्यमा सानो भए पनि महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ।
हिमाली क्षेत्रको शैक्षिक धरोहरका रूपमा चिनिने गौरीशंकर बहुमुखी क्याम्पसले अध्ययन-अध्यापनका साथसाथै मानवीय र सामाजिक कार्यहरूमा पनि सधैँ आफूलाई अग्रणी रूपमा उभ्याउँदै आएको छ।

सुनौलो अनलाइन
प्रतिक्रिया दिनुहोस