दोलखा काङ्ग्रेस टोलीसँग संयुक्त भेट : अदालतबाट ‘रुख’ र झण्डा पाउनेमा देउवा-शेखर ढुक्क
काठमाडौँ । नेपाली कांग्रेस दोलखाका शीर्ष नेताहरूको टोलीले पार्टीका पूर्व सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालासँग एकै ठाउँमा संयुक्त भेटघाट गरी पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरेको छ।
भेटमा केन्द्रीय सदस्य कुन्दनराज काफ्ले, पूर्व जिल्ला सभापतिहरू ताराबहादुर कोइराला र रूद्रबहादुर खड्का, पूर्व क्षेत्रीय सभापति कुमार अधिकारी तथा नेता महेश काफ्लेसहितको टोलीको सहभागिता रहेको थियो।
दोलखामा छुट्टै पार्टी कार्यालय स्थापना गरी संयोजक र सहसंयोजक तोकेर आफ्ना गतिविधि अघि बढाएर थप गतिविधिका लागि र रणनीतिक योजना बनाउन काठमाडौँमा देउवा र डा. शेखरसँग यो संयुक्त भेट गरिएको एक नेताले बताए।
भेटका क्रममा पार्टीको आधिकारिकता, कानुनी वैधानिकता, चुनाव चिन्ह ‘रुख’ र चारतारे झण्डाको विषयमा गम्भीर मन्थन भएको छ।
भेटमा सहभागी एक नेताका अनुसार, जारी अदालती प्रक्रियाबाट नेपाली कांग्रेसको आधिकारिक चुनाव चिन्ह ‘रुख’ र पार्टीको झण्डा आफ्नै पक्षमा आउनेमा पूर्व सभापति शेरबहादुर देउवा पूर्ण रूपमा विश्वस्त देखिएका छन्।
देउवासँगै एकै ठाउँमा रहेका नेता डा. शेखर कोइरालाले पनि अदालती निर्णयबाट रुख चिन्ह र झण्डा आफ्नै पक्षमा आउनेमा आफू पनि पूर्णतः विश्वस्त रहेको बताएका छन्।
कानुनी र अदालती प्रक्रियाबाट पार्टीको आधिकारिकता आफूहरूकै पक्षमा निरूपण हुनेमा दुवै शीर्ष नेताहरू ढुक्क रहेको सन्देशसहित दोलखाको टोलीले आगामी सांगठनिक रणनीतिका विषयमा थप परामर्श गरेको छ।

सुनौलो अनलाइन
प्रतिक्रिया दिनुहोस