सबै अस्पताललाई आफ्नै औषधि पसल सञ्चालन गर्न निर्देशन

सुनौलो अनलाइन
२४ जेठ २०८१, बुधबार

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र पर्ने सबै अस्पताललाई १५ दिनभित्र आफ्नै औषधि पसल (फार्मेसी) सञ्चालन गर्न महानगरपालिकाले निर्देशन दिएको छ । बुधबार सूचना प्रकाशित गर्दै महानगरले हाल काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालित सबै अस्पताललाई १५ दिनभित्र आफ्नै फार्मेसी सञ्चालन गर्न निदेश गरेको हो ।

अधिकांश अस्पतालहरूको आफ्नो स्वामित्वमा फार्मेसी सञ्चालन नभएको र अन्य व्यक्तिहरूलाई फार्मेसी सञ्चालन गर्न अनुमति दिँदा उपभोक्ताहरू गुणस्तरीय फार्मेसी सेवाबाट बञ्चित भइरहेको तथा चर्को मूल्यमा औषधि तथा औषधिजन्य सामग्रीहरू बिक्री भइरहेको भन्ने गुनासो प्राप्त हुन आएकाले ५ दिनभित्र आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन गर्न भनेको महानगरले जनाएको छ । सर्वोच्च अदालतले २०७४ असोज २ गते नै अस्पतालहरुलाई आफ्नै फार्मेसी सञ्चालन गर्न आदेश दिएको थियो ।

नेपाल सरकारबाट जारी भएको अस्पताल फार्मेसी सेवा सञ्चालन निर्देशिका २०७२ अनुसार पनि अस्पतालहरूको न्यूनतम सेवा मापदण्डअन्तर्गत अस्पतालले आफ्नो स्वामित्वमा फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्था छ । तर काठमाडौंका अधिकांश अस्पतालले फार्मेसी सेवा सञ्चालन निर्देशिका तथा सर्वोच्चको आदेशको अटेर गर्दै अन्य व्यक्तिहरुलाई फार्मेसी सञ्चालन गर्न दिइरहेका छन् ।


धेरै पढिएको