संसदीय छानबिन समितिमा रविलाई बोलाउने तयारी

सुनौलो अनलाइन
१५ साउन २०८१, सोमबार

काठमाडौं । सहकारीको बचत अपचलन, हिनामिना र ठगीमा तत्कालीन गृहमन्त्री रवि लामिछाने समेतको संलग्नता देखिएको तथ्य संकलन गरिसकेकाले उनलाई अनुसन्धानका लागि संसदीय छानबिन समितिमा बोलाउने तयारी छ । लामिछानेलाई केही दिनभित्रै सोधपुछका लागि बोलाउने तयारीरहेको समितिका एक सदस्यले बताए ।

अहिलेसम्म भएका छानबिनबाट लामिछानेसमेत सहकारीको बचत अपचलनमा संलग्न भएको तथ्यहरू संकलन भइसके पनि गोरखा मिडिया नेटकवर्कसँग रकम आदानप्रदानसम्बन्धी माग गरिएका विभिन्न कागजाताहरू प्राप्त नभएकाले उनलाई बोलाउन केही ढिलाइ भएको बताइएको छ । ‘ती कागजजात आउनसाथ लामिछानेलाई सोधपुछका लागि बोलाउने तयारी छ । गोरखा मिडियाका नेटवर्कका तत्कालीन र वर्तमान सञ्चालक समितिका मान्छेहरूलाई बोलाउने कार्यविधिमै व्यवस्था छ,’ ती सदस्यले भने ।

लामिछानेलाई गृहमन्त्री र माननीयको हैसियतमा नभई गोरखा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा बोलाउने तयारी भएको हो । सूर्यदर्शन, सुप्रिम, स्वर्णलक्ष्मी र साहरा सहकारीको बचत कम्तीमा ९५ करोड ८१ लाख रुपैयाँ रुपैयाँ गोरखा मिडिया नेटवर्कमा ल्याएर अपलचन गरिएको तथ्य यसअघिनै बाहिरिएको थियो । गृहमन्त्री लामिछाने कम्पनीमा प्रबन्ध निर्देशक भएकै बेलामा ८० करोड ३१ लाख रुपैयाँ अपचलन भएको तथ्य सार्वजनिक भइसकेको छ । त्यसमध्ये सुप्रिमबाट २ करोड रुपैयाँ र सूर्यदर्शनबाट १ करोड रुपैयाँ लामिछानेको नाममा जम्मा भएको कागजात सार्वजनिक भएको छ ।