कांग्रेसभित्र ‘जरा अभियान’का नाममा वास्तविक कांग्रेसीको जरो उखेल्ने काम भइरहेको छ: कुन्दनराज काफ्ले
काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता कुन्दनराज काफ्लेले पार्टीभित्र नयाँ अभियानका नाममा रैथाने र वास्तविक कांग्रेसी हरूलाई पाखा लगाउने योजनाबद्ध खेल भइरहेको आरोप लगाउनुभएको छ ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता काफ्लेले पार्टीमा योगदान पुर्याएका र जनताको आस्था रहेका नेता-कार्यकर्तालाई लखेट्ने नियोजित प्रपञ्च रचिएको दाबी गर्नुभएको हो ।
हालै पार्टीले सञ्चालन गरेको सांगठनिक अभियानतर्फ संकेत गर्दै उहाँले ‘जरा अभियान’ को नाम दिएर जरैदेखि कांग्रेस बनेका मानिसहरूको जरो उखेल्ने काम भइरहेको टिप्पणी गर्नुभएको छ ।
पार्टी नेतृत्वको पछिल्लो कदमप्रति तीव्र असन्तुष्टि जनाउँदै काफ्लेले भन्नुभएको छ, “जनताले कांग्रेस भनेर चिनेका, जनताको आस्था भएका मानिसलाई कांग्रेसबाट लखेट्ने नियोजित प्रपञ्च रचिँदै छ ।
कांग्रेससँग नाफाघाटाको सम्बन्ध भएका मानिसलाई जिम्मेवारीमा ल्याइएको छ, यसले कांग्रेस अवश्य कमजोर हुन्छ ।”
राजनीति त्याग र समर्पणको विषय भएको स्मरण गराउँदै उहाँले नेपाली कांग्रेसको इतिहास त्यागको लामो शृङ्खलासँग जोडिएको उल्लेख गर्नुभएको छ ।
अहिले स्वार्थ बाझिने व्यक्तिहरूको समूहले पार्टीलाई आफ्नो अखडा बनाउन खोजेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभएको छ ।
नेता काफ्लेले कांग्रेसको अस्तित्व रक्षाका लागि देशभरका वास्तविक कांग्रेसजनलाई यस्ता गतिविधिबाट सचेत रहन र एकजुट हुन अपिलसमेत गर्नुभएको छ ।

सुनौलो अनलाइन
प्रतिक्रिया दिनुहोस