दोलखामा क्रियाशिल सदस्यता अभियानका लागि ९ वटै स्थानीय तहमा प्रतिनिधि खटिए, को-कहाँ परे? (सूचीसहित)
सुजन काफ्ले / चरीकोट
नेपाली कांग्रेस दोलखाले पार्टीको मुख्य मेरुदण्ड मानिने क्रियाशील सदस्यता अद्यावधिक अभियानलाई तीव्र, सुदृढ र प्रभावकारी बनाउन जिल्लाका सबै ९ वटै स्थानीय तहमा उच्चस्तरीय प्रतिनिधि खटाउने निर्णय गरेको छ।
नेपाली कांग्रेस दोलखाका जिल्ला सभापति बर्मा लामाका अनुसार केन्द्रको परिपत्र बमोजिम स्थानीय तहको जनस्तर सम्मै पुगेर सदस्यता अद्यावधिक कार्यलाई सक्रिय बनाउन ९ जना जिल्लाका शीर्ष नेताहरूलाई जिम्मेवारी तोकिएको हो।
स्थानीय तहमा खटिएका जिल्लाका शक्तिशाली प्रतिनिधिहरू
पार्टीले जिल्लाका ९ वटै स्थानीय तहमा जिल्ला तहका मुख्य पदाधिकारी र महासमिति सदस्यहरूलाई जिम्मेवारी सुम्पेको छ।
जसअन्तर्गत कालिञ्चोक गाउँपालिकामा नेपाल तरुण दलका केन्द्रीय सदस्य तथा नेपाली कांग्रेस दोलखाका प्रवक्ता राकेश श्रेष्ठलाई खटाइएको छ।
त्यसैगरी बिगु गाउँपालिकामा महासमिति सदस्य बाबुकाजी बस्नेत, गौरीशङ्कर गाउँपालिकामा महासमिति सदस्य सुनिता नेपाली र वैत्येश्वर गाउँपालिकामा महासमिति सदस्य तथा तामाकोशी गाउँपालिकाकी उपाध्यक्ष सिर्जना सुवेदीले कमान्ड सम्हाल्नुहुनेछ।
तामाकोशी गाउँपालिकामा पूर्व पार्टी सभापति उद्धवराज काफ्ले, शैलुङ गाउँपालिकामा महासमिति सदस्य च्याङ्गा शेर्पा र मेलुङ गाउँपालिकामा जिल्ला सचिव दावासाङ्गे शेर्पालाई प्रतिनिधिको जिम्मेवारी दिइएको छ।
यस्तै भीमेश्वर नगरपालिकामा जिल्ला उपसभापति तथा कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटी र जिरी नगरपालिकामा जिल्ला उपसभापति तथा वैत्येश्वर गाउँपालिकाका अध्यक्ष छवि लामालाई परिचालन गरिने निर्णय भएको छ।
काठमाडौँमै बोलाएर सभापति लामाको विशेष निर्देशन
जिल्ला सभापति बर्मा लामाले शुक्रबार राजधानी काठमाडौँमा उपलब्ध प्रतिनिधिहरूलाई एकै ठाउँमा बोलाएर अभियानलाई सुदृढ बनाउन आवश्यक कडा निर्देशन दिनुभएको छ।
प्रतिनिधिहरू आ-आफ्नो कार्यक्षेत्रमा खटिएर स्थानीय स्तरमै क्रियाशील सदस्यता अद्यावधिक कार्यलाई थप मजबुत, पारदर्शी र प्रभावकारी बनाउने विश्वास सभापति लामाले व्यक्त गर्नुभयो।
केन्द्रद्वारा दोलखामा केन्द्रीय प्रतिनिधि परिचालन
नेपाली कांग्रेस केन्द्रीय कार्यालयले पनि दोलखा जिल्लामा क्रियाशील सदस्यता अद्यावधिक कार्यको विशेष सहजीकरण, समन्वय र अनुगमनका लागि केन्द्रीय प्रतिनिधिहरू तोकेर पठाएको छ।
केन्द्रले पार्टीको तर्फबाट ओम घर्तीमगर, नेपाल तरुण दलको तर्फबाट श्री खनाल र नेपाल महिला सङ्घको तर्फबाट अन्जना मधुकर्मीलाई दोलखा जिल्ला प्रतिनिधि तोकेको हो।
आगामी महाधिवेशन केन्द्रित तयारी
नेपाली कांग्रेसले आगामी महाधिवेशनलाई मुख्य लक्ष्य बनाउँदै यो क्रियाशील सदस्यता अद्यावधिक अभियानलाई जिल्लाभर चुनावी कमान्डकै शैलीमा तीव्र रूपमा अगाडि बढाउने तयारी गरेको छ।
यस अभियानले तल्लो तहसम्म पार्टीको सङ्गठनलाई थप चलायमान र सुदृढ बनाउने विश्वास दोलखा कांग्रेसले लिएको छ।

सुनौलो अनलाइन
प्रतिक्रिया दिनुहोस