गृहमन्त्री जी ! डा. नेपालबाट नैतिकता सिक्ने कि ?

जीवन शर्मा
३१ वैशाख २०८१, आइतबार

काठमाडौं । सरकारले १०० को नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको विषयमा बोलेर सामान्य विवादमा तानिएका राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा.चिरञ्जिवी नेपालले राजीनामा दिए । नेपालको नक्सा नोटमा प्रकाशित गर्नेसम्बन्धी विषयबारे उनले बोलेको विषयमा राष्ट्रपति पौडेलले उनीसँग सोधखोज गरेसँगै डा.नेपालले राजीनामा दिएका हुन् ।

एउटा जिम्मेवार निकायमा बसेका व्यक्तिले सरकारको निर्णयका सन्दर्भमा आफ्ना धारण अभिव्यक्त गर्दा पदीय जिम्मेवारीबाट अलग हुनु स्वागत योग्य छ । उनले राजीनामा नदिएकै भएपनि न्यायिक निकायको ध्यानाकर्षण हुनेगरी कसैले उजुरबाजुर गर्ने अवस्था थिएन । यद्यपी नैतिकताका आधारमा डा. नेपालले जिम्मेवारीबाट हट्ने हिम्मत गर्नु समग्रमा सकारात्मक पक्ष हो । उनीबाट अन्य सार्वजनीक पदीय जिम्मेवारीमा रहेका व्यक्तिहरुले सिक्नु पनि राष्ट्रहित, जनहितकारी हुन जान्छ । राष्ट्रपति कार्यालयको एउटा विज्ञले स्वस्फूर्त रुपमा यस्तो निर्णय लिदैगर्दा सहकारीको करोडौं ऋण लिएर नतिरेको आरोपमा ठगीको पहिचान बनाएर सोही सरकारको सुरक्षा, प्रशासनको बागडोर सम्हालेका गृहमन्त्री रवि लामिछाने के हेरेर बसेका छन ? के उनिमाथि नैतिकताको कुनै कसी छैन ? राजनीतिमा आउनुपूर्व मात्र होइन सांसद भइसकेपछि समेत अरुलाई नैतिक्ताको पाठ पढाउदै हिड्ने लामिछाने आफै दोहोरो नागरिकता र दोहोरो पासवर्डमा त परेकै थिए ।

पछिल्लो समयमा उनिमाथि सहकारी ठगीको संगिन आरोप लागेको छ । सय रुपौंयामा नक्सा राख्ने काण्डमा बोलेर फसेका नेपाल भन्दा सहकारी काण्डमा करोडौं अपचलन भएको आरोपमा फसेका गृहमन्त्री लामिछासँग जोडिएको घटना निकै ठूलो हो । उनकै कारण हजारौ सहकारी पिडीतहरु सडकमा छन भने लामो समय देखि व्यवस्थापिका संसद व्यवस्थित रुपमा चल्न सकेको छैन् । करिव आधार दर्जन सहकारीबाट ऋण लिएर नतिरेको उनिमाथि आरोप छ । त्यही विषयलाई लिएर मुलुकको राजनीतिक उतारचढाव समेत हुने अवस्थामा पुगेको छ । सहकारी ठगी प्रकरणमा दलहरु सत्ता पक्ष र प्रतिपक्षबीच जुहारीनै चलिरहेको छ । सत्तापक्षबाट रविलाई निर्दोस सावित गराउन अनुसन्धानमा संलग्न अधिकारीहरुलाई आदेश दिएर सम्बन्धीत कागजातहरु समेत लुकाउने प्रयास भइरहेको पछिल्ला गतिविधिले प्रष्ट संकेत गरेको छ ।

प्रतिपक्षी दलहरु सोही विषयलाई लिएर संसदीय छानविन समिति नबनाउदा सम्म सदन चल्न नदिने निर्णय गरेर बसेका छन् । सडक देखि सदन सम्म तात्दा समेत गृहमन्त्री तथा रास्वपाका सभापसित रवि लामिछानेले राजीनामाको त के कुरा सहकारी घोटालाको आवश्यक अनुसन्धानमा खटिएका अनुसन्धान अधिकृतहरुलाई समेत मानसिक तनाव दिनेगरी प्रहरी अधिकृतहरुलाई खटाएका छन् । उनि माथि संसदीय छानविन गर्न माग गर्दै संसद अवरोध जारी छ । तर, गृहमन्त्री र उनको दल रास्वपाले छानविन समिति अस्वीकार गर्ने निर्णय नै गरेको छ । सत्ता बाहिर हुँदा सबै भन्दा चर्को स्वरमा कराउने लामिछाने लाज पचाएर सरकारमा बसेका मात्रै छैनन् त्यहाँ बसेर अनुसन्धानका फाइलहरु गायव गर्ने र सहकारी काण्डलाई ढाकछोप गरी आफू उम्कने ध्याउन्नमा छन् ।

बोलेरै सबै जित्न सकिन्छ भन्ने मानसिकताको राजनीतिक यात्रामा सफलता हात पारेका लामिछानेलाई सधै यही अवस्था रही नरहने हेक्का सायद छैन होला । नत्र सरकार बाहिर रहँदा सबैलाई उनले देख्ने अनौतिक, भ्रष्टाचारी, कालाबजारी घुसखोरी, चाकडीवाज, काण्डैकाण्डमा मुछिएका, सेटिङवाला जस्ता शब्दले आफैलाई किन छोएको छैन ? जुन अहिले आफै गर्दै छन् । जे बोल्दा पनि सुहाउछ भन्ने ढंगबाट नागरिकलाई भ्रमम राखेर अझै केही समय सत्तामा हामी मुहाली गर्ने र यो समयमा आफ्ना सबै कर्तुत पखाल्नेगरी लागेका लामिछानेले उनिमाथि लागेको आरोपलाई आरोपमै सिमित गर्न र आफु कही नचुकेकाे पुष्टि गर्न डा. नेपालसँग किन सिक्दैनन ? उनि माथि अहिले यही गम्भीर प्रश्न छ ।

डा. नेपालले आफूले पूर्वगभर्नर र अर्थशास्त्रीका हैसियतमा भनेको कुरालाई गलत आशयले प्रचार गरेको र सम्मानित संस्थालाई अनावश्यक विवादमा ल्याएकामा दुःख व्यक्त गर्दै नेपालले आफ्नो भनाइ भनेर आएका सम्बन्धित विचारको नैतिक जिम्मेवारी आफैँ लिएको पनि वक्तव्यमा स्पष्ट पारेका थिए । उनले १०० को नोटमा चुच्चे नक्सा राखेर सरकारले भारतलाई चिढ्याउने कार्य गरेको आशयको अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिको एमाले अध्यक्ष केपी ओलीले समेत आलोचना गरेका थिए । यत्तिकै आलोचनाका भरमा पदीय जिम्मेवारीबाट बाहिरिएका नेपालबाट सिकेर चौतर्फी आलोचना र विवाद झेलिरहेका गृहमन्त्री रविले छानविन समिति बनाउन सहमति जनाउँदै तत्काल जिम्मेबारीबाट समेत अलग हुने हिम्मत गरुन अनि उनले बोलेका कुराहरु पत्यारयोग्य हुन सक्छन् ।


धेरै पढिएको